नयाँ पत्रिका/नवराज मैनाली
फागुन १५, काठमाडौं । सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले अर्को वर्षदेखि एउटै गुणस्तरका कपडा खरिद गर्ने भएका छन् । समान गुणस्तरमा रङ मात्र फरक पर्ने गरी टेन्डर गर्ने सुरक्षा निकायले तयारी गरेको हो ।सुरक्षाकर्मीले पाउने कपडासहित स्केलका सामानको गुणस्तर निर्धारण गर्न नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशकको संयोजकत्वमा एक समिति नै बनेको छ । समितिमा सेना, नेपाल प्रहरी र सशस्त्रका प्रतिनिधि सदस्य छन् । समिति सदस्य नेपाल प्रहरीका एसएसपी दीपक थापाले समितिको बैठक तीनपटक बसिसकेको बताए । छिटै गुणस्तर निर्धारण गर्ने र साउनमा टेन्डर गर्दा सबैले एउटै स्पेसिफिकेसन निर्धारण गर्ने तय भएको छ । गुणस्तर एउटै हुने र ती सामानको रङ मात्र फरक गरी टेन्डर गर्ने सुरक्षा निकायको तयारी छ । ज्याकेट, सर्ट, पाइन्ट, स्विटर, जुत्तालगायत सबै स्केलका सामानको निश्चित गुणस्तर निर्धारण गर्न लागिएको छ ।यसअघि सुरक्षा निकायले खरिद गर्ने कपडालगायत स्केलका सामानको नमुना परीक्षण गर्नसमेत भारत पठाउनुपर्ने अवस्था थियो । अब नेपालमै परीक्षण हुनेछ ।
नेपाली कम्पनीलाई अवसर
सरकारले सुरक्षाकर्मीका लागि नेपालमै कपडा उत्पादन गर्ने योजना धेरै वर्षदेखि अघि बढाएको थियो । तर, त्यसले सार्थकता पाउन सकेको छैन । एउटै गुणस्तरको कपडा तीनै सुरक्षा निकायले खरिद गर्ने भएकाले नेपाली कम्पनीले उत्पादन गर्न सहज भएको छ । साथै यस्तो टेन्डर गर्दा स्वदेशी कम्पनीको उत्पादन विदेशी कम्पनीको भन्दा १५ प्रतिशतसम्म महँगो दररेटमा किन्न सक्ने प्रावधान भएकाले स्वदेशी उत्पादन नै खरिद हुने सम्भावना छ । सुरक्षा निकायको कपडा खरिदमा सधैँ चलखेलको आरोप लाग्ने गरेको छ । मिलेमतोमा ठेक्का दिने र कमसल सामान खरिद गरेर अनियमितता गर्ने आरोप लाग्दै आएको छ । अब तीनै सुरक्षा निकायमा एउटै गुणस्तर कायम गरिएपछि गुणस्तरमा एकरूपता आउनुका साथै अनियमितता पनि केही हदसम्म नियन्त्रण हुने अपेक्षा गरिएको छ ।
साउनदेखि रासनभत्ता बढ्ने
नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीका लागि साउनदेखि मात्र रासनभत्ता बढ्ने भएको छ । तत्काल रासनभत्ता बढाउन तीनवटै निकायले लबिङ गर्दै आएका छन् । चार वर्षदेखि सुरक्षाकर्मीको रासनभत्ता बढेको छैन । चार वर्षमा धेरै महँगी बढेको भन्दै रासनभत्ता ४० प्रतिशत बढाउन नेपाल प्रहरीले प्रस्ताव गरेको छ । रासनभत्ता वृद्धिबारे छलफल भइरहेको र छिटै निर्णय हुने अपेक्षा रहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले बताए । गृह स्रोतका अनुसार नयाँ बजेटपछि मात्र रासनभत्ता बढाउने आश्वासन अर्थ मन्त्रालयबाट आएको छ । कति प्रतिशत बढ्ने भन्ने तय भइसकेको छ । रासनभत्ता वृद्धिका लागि सबै सरोकारवाला निकायका प्रतिनिधि रहेको एक समिति गठन भइसकेको छ ।