काठमाडौं, पुस ४ काठमाडौंमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा भोलि बिहीबार पार्टीको संशोधित विधानको मस्यौदा पेश गरिने भएको छ।महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको समितिले तयार पारेको पार्टीको संघीय विधान मस्यौया बुधबार दिउँसो बस्ने केन्द्रीय कार्यसमितिमा छलफल गरी पारित गरेपछि मात्रै छपाइका लागि प्रेसमा पठाइने तयारी छ। विधान संशोधन मस्यौदा समितिका प्रवक्तासमेत रहेका कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकका अनुसार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा दिउँसो १२ बजे केन्द्रीय समिति बैठक डाकिएको छ। सो बैठकमा मंगलबार सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेललगायत पदाधिकारी बैठकबाट भएको सहमतिका बुँदामाथि केन्द्रीय सदस्यले धारणा राख्नेछन्।‘विधानको मस्यौदा केन्द्रीय कार्यसमितिमा छलफल भई पारित भएपछि आजै छपाइका लागि प्रेसमा पठाउँछौं,’ लेखकले सेतोपाटीसँग भने, ‘महासमिति सदस्यलाई भोलिमात्रै विधान दिइनेछ।’सभापति देउवा समूहइतरका नेताहरूले पदाधिकारी संख्या वृद्धि गर्नुपर्ने र अधिवेशनबाट चुनिएर आउनु पर्ने अडान राखेपछि मंगलबार सकिने भनिएको महासमिति बैठक लम्बिएको छ।
सिंहदरबारअगाडि यगम्बर पार्टी प्यालेसमा हुने बैठक भोलिदेखि भने केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। एक संस्थाले पहिला नै पार्टी प्यालेस बुकिङ गरेकाले कांग्रेस महासमिति बैठकस्थल सार्नु परेको हो।कांग्रेसले पदाधिकारी संख्या आठ पुर्याएको छ। अधिवेशनबाट सभापति, २ उपसभापति, २ महामन्त्री, २ सहमहामन्त्री निर्वाचित भएर आउनुपर्छ। निर्वाचित केन्द्रीय सदस्यलाई सभापतिको प्रस्तावमा केन्द्रीय कार्यसमितिले कोषाध्यक्ष मनोनित गर्न सक्ने विधानमा राख्ने सहमति नेताहरुबीच भएको हो। सभापतिले प्रवक्ता पनि मनोनित गर्न पाउँछन्। कांग्रेसमा यसअघि एक उपसभापति रहने विधान भए पनि विजयकुमार गच्छदारलाई राजनीतिक निर्णयबाट भन्दै उपसभापति नियुक्त गरेपछि उक्त निर्णयलाई वैधानिकता दिन पदाधिकारी संख्या थप्नुपर्ने बाध्यतामा देउवा थिए।८५ जना रहेको केन्द्रीय कार्यसमिति बढाएर एक सय ६१ सदस्यीय पुर्याइएको छ। केन्द्रीय समितिमा प्रदेशबाट एक महिला अनिवार्य आउनुपर्नेसमेत विधानमा राखिएको छ। समावेशीतालाई प्राथमिकता दिँदा केन्द्रीय कार्यसमितिको आकार बढाइएको कांग्रेस नेताहरूले जनाएका छन्।
केन्द्रीय कार्यसमितिमा सभापतिले २० प्रतिशत सदस्य मनोनित गर्न पाउँछन्।‘केन्द्रमा जस्तो पदाधिकारी छ, प्रदेशमा पनि त्यस्तै हुने हो,’ लेखकले भने। देश संघीय संरचनामा गए पनि कांग्रेसको पार्टीगत संरचना भने पूरानै छ। वडा, प्रदेशसभा क्षेत्र, प्रदेशमा कांग्रेसको संगठन अहिले छैन। कांग्रेसको सदस्यता विवादसमेत पदाधिकारी बैठकबाट हल गरिएको छ। क्रियाशील सदस्यतामा अनावश्यक विवाद हुने गरेको भन्दै केन्द्रीय कार्यसमिति बैठकमा एक प्रकृतिको मात्रै सदस्यता राख्न केन्द्रीय सदस्यहरुले नेतृत्वको ध्यानाकर्षण गराए पनि क्रियाशील र साधारण सदस्यतालाई नै विधानमा राखिएको छ। महासमिति बैठक शुक्रबारसम्म लम्बिने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। सर्वसहमतिबाटै विधान ल्याउन खोजिएकोले ढिलाइ भएको हो।आज पनि महासमिति बैठक जारी छ। बैठकमा राजनीतिक दस्तावेज र पार्टी संगठन सुधारका विषयमा महासमिति सदस्यले धारणा राखिरहेका छन्। -सेतोपाटी