Friday, September 18, 2026
Home राजनीति प्रधानन्यायाधीश दीपकराज जोशीको राजीनामा नआउने

प्रधानन्यायाधीश दीपकराज जोशीको राजीनामा नआउने

113

साउन १४,
काठमाडौं । कामु प्रधानन्यायाधीश दीपकराज जोशीको राजीनामा नआउने प्रधानन्यायाधीशको सचिवालयले जनाएको छ। संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस भएका जोशी संसदीय सनुवाई समितिबाट अनुमोदन हुन बाँकी छ। जोशीका शैक्षिक प्रमाणपत्रका विषयमा विवाद देखिएपछि उनको अनुमोदन अहिलेसम्म रोकिएको छ। विवाद देखिएपछि नेकपाले जोशीलाई राजीनामा गरेर ससम्मान घर फर्किन सन्देश पठाएको थियो। तर जोशीले आफू आफ्ना प्रमाणपत्रका विषयमा ढुक्क रहेकोले राजीनामा नगर्ने बताएका छन्। उनले हालसम्मको प्रचलन, नेपालको संविधानले निर्दिष्ट गरेको बाटोका आधारमा आफू प्रधानन्यायाधीशमा अनुमोदन हुने निकटस्थहरूलाई बताउँदै आएका छन्। ‘जोशी श्रीमानको राजीनामा आउने कुनैपनि सम्भावना छैन,’ प्रधानन्यायाधीशको सचिवालय स्रोतले भन्यो, ‘उहाँले राजीनामा गर्नुपर्ने कुनै कारण नै छैन।’ विहिबारको संसदीय सुनुवाईपछि जोशी कार्यालय समेत गएका छैनन्। उनी आइतबार र शुक्रबार पूर्व निर्धारित न्यायिक प्रतिष्ठानको कार्यक्रममा गएको सचिवालयले जनाएको छ। बाहिर हल्ला हुँदैमा राजीनामा नआउने समेत स्रोतले बतायो। ‘सोमबार दिउँसोसम्ममा कार्यालय आउनुहुन्छ,’ स्रोतले भन्यो, ‘अहिले भेटघाटमा व्यस्त हुनुहुन्छ, यो चाहिँ साँचो हो।’ संसदीय सनुवाईमा आफ्नो अनुमोदन अड्किएपछि जोशी शक्तिकेन्द्रहरूसँग भेटघाटमा व्यस्त छन्। जोशीले आफू निकटस्थलाई संसदीय सुनुवाईको निर्णय पछि आवश्यक कदम चाल्ने तर अहिले राजीनामा नगर्ने बताएका छन्। जोशीलाई नेकपा नेतृत्वले राजीनामा गरेर सहयोग गर्न सन्देश पठाएको थियो। ‘जोशीलाई राजीनामा गर्नू भन्ने सन्देश चाहिँ आएको हो,’ एक अधिवक्ताले भने, ‘तर उनले राजीनामा दिन्छन् कि दिँदैनन् त्यो भने हेर्न बाँकी छ।’ नेकपाले सरकारलाई सहयोग हुने सोचेर जोशीलाई गलाएको हुन सक्ने पनि उनले बताए।