तीन जिल्लामा ट्रिपर चलाउन नपाइने

153

असार २७,
काठमाडौं । उपत्यकाको ३ जिल्लामा दिउँसो ट्रिपर चलाउन नपाइने भएको छ । ट्रिपरका कारण सवारी दुर्घटना बढेपछि गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो ट्रिपर चलाउन नदिन निर्देशन दिएको हो ।
अब राति ८ बजेदेखि बिहानसम्म मात्रै ट्रिपर सञ्चालन हुनेछन् । गृह मन्त्री रामबहादुर थापाका प्रेस संयोजक किरण भट्टराईले गृहले यो नियम साउन १ गतेदेखि कार्यान्वय गर्ने गरी निर्देशन दिएको अनलाइनखबरलाई बताए ।
‘बिहान ५ बजेसम्म मात्रै चलाउन दिने वा ७ बजेसम्म भन्ने विषयमा चाहिँ छलफल भइरहेकै छ’, उनले भने ।
गृहको यो निर्णयपछि ट्रिपरबाट हुने दुर्घटनामा कमी आउने अधिकारीहरूले विश्वास व्यक्त गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार असार महिनामा मात्रै काठमाडौं उपत्यकामा १०८ वटा दुर्घटना भएका थिए । जसमध्ये ४० वटामा ट्रिपर संलग्न रहेका थिए ।