असार १८,
काठमाडौ । लगातारको अविरल वर्षाका कारण पहाड भेग र तराइमा जनजीवन प्रभावित भएको छ । जल तथा मौसम पूर्वानुमहाशाखाले निरन्तर वर्षाको सम्भावना रहेका कारण देशका पूर्वदेखि पश्चिमका विभिन्न नदीमा पानीको बहाव बढ्ने खतरा रहेको जनाएको छ । आइतबार कन्काई, कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीमा बहाव बढ्ेको र आज विहान देखि नै ती नदीको जलाधार क्षेत्रमा व्यापक बर्षा भएका कारण नदीमा एक्कासी पानीको मात्रा बढ्ने विभागले प्रक्षेपण गरेको छ ।
चितवनः नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि बिहान ५ः१० बजेदेखि सो सडक एकतर्फी मात्र सञ्चालनमा आएकोमा पुन बिहान ८ बजे ठुलो चट्टान खसेपछि दुई तर्फी नै बन्द भएकोछ ।जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ती स्थानमा ठुलो पहिरो गएकाले बाटो अवरुद्ध भएको हो । पहिरो पन्छाउन थालिएको भए पनि पानी परिरहेकाले पन्छाउन कठिन भएको नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ । आइतबार रातिदेखि परेको वर्षासँगै आएको बाढीका कारण भरतपुर, माडी, ठोरी हुलाकी सडक अवरुद्ध बनेको छ । इलाका प्रहरी कार्यालय माडीले दिएको जानकारी अनुसार खहरे खोलामा आएको बाढीका कारण माडी नगरपालिका–३ र ६ जोड्ने रौतनी खोलाको पुल भाँच्चिदा सवारी आवागमन बन्द भएको हो ।
बाँकेः आइतबार साँझदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपास क्षेत्र जलमग्न भएको छ । निरन्तर वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत बेलासपुर, धम्बोझी, सेतु विक चोक, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँलगायत स्थानमा पानी जमेर आवतजावतमा समस्या भएको छ । पानी जमेपछि बिहानै विद्यालय तथा कलेज जाने विद्यार्थी जान सकेका छैनन् भने पैदलयात्रीलाई अप्ठेरो भएको छ । नेपालगञ्जका विभिन्न सडक तथा नाली निर्माणको कार्यले ढल निकासको व्यवस्थापन नहुँदा पानीको मुहान थुनिएर पानी जमेको हो ।
सिरहाः शनिबारदेखिको वर्षाका कारण मिर्चैयाको केन्द्रबिन्दु मानिने थाना चोक, बजार एरिया र कटारी चोकलगायतका स्थानमा पानी जमेकाले आवतजावतमा समस्या भइरहेको छ । नालाको उचित व्यवस्थापनको अभावमा पानीको निकास नहुँदा पूर्व पश्चिम राजमार्गमा समेत पानी जमेकाले सवारीसाधन आगमनमा समस्या भइरहेको हो ।
पाल्पाः सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा मन्दिर क्षेत्रमा पहिरो गएपछि बुटवल तानसेन सडकखण्ड अवरुद्ध भएको छ । दुई दिनदेखि परेको वर्षाका कारण आइतबार राति करीब ११ बजे सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका–३ सिद्धबाबा क्षेत्रमा पर्ने हेडबक्स नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।