Friday, October 23, 2026
Home समाचार जंगली हात्तीका कारण गाउँ नै त्रसित

जंगली हात्तीका कारण गाउँ नै त्रसित

83

असार १४,
काँकडभिट्टा । झापाको ज्यामिरगढीस्थित एउटा चिया बगानमा रहेका १८ वटा जंगली हात्तीका कारण गाउँ नै त्रसित बनेको छ। मेचीनगर–१० मा रहेको शौरभ चिया बगानमा बुधबार रातिदेखि पाँँच वटा छावासहित १८ वटा हात्ती पसेको छ। बस्तीको बीचमा रहेको बगानमा हात्ती भएपछि सिंगो गाउँ नै त्रसित बनेको हो। बिहानैदेखि स्थानीयवासीलाई सकेसम्म घरबाहिर ननिस्कन वडाध्यक्ष गुणराज भट्टराई र इलाका प्रहरी कार्यालय धुलाबारीले सचेत गराएको छ। इलाका प्रहरी कार्यालय धुलाबारी, काँकडभिट्टाबाट गएको सुरक्षाकर्मी र सशस्त्र प्रहरीसहितले गाउँमा सुरक्षा प्रदान गरिरहेको वडाध्यक्ष भट्टराईले बताए। छिमेकी मुलुक भारतबाट आएको जंगली हात्तीलाई दिनभर बगानबाट अन्यत्र जान नदिई सुरक्षा दिने र साँझ परेपछि भारततिरै लखेट्ने इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख खगेन्द्र रिजालले बताए। हात्ती बसेको चिया बगानबाट दुई किलोमिटरको दूरीमा ज्यामिरगढी माध्यमिक विद्यालय रहेको छ।