नयाँ पत्रिका दैनिक- जेठ ९,
काठमाडौं । १२ वैशाख ०७२ को भूकम्पले काठमाडौं महानगरपालिकाभित्र भत्काएका झन्डै ६ हजारमध्ये ३३१ घर मात्रै निर्माण भएका छन् । ३३१ परिवारले मात्रै सरकारले वितरण गर्ने तीनवटै किस्ता रकम पाएका छन् । महानगरका सबै वडामा गरी पुनर्निर्माण प्राधिकरणले ५ हजार ८ सय ७ परिवारसँग अनुदान सम्झौता गरेको थियो ।
कामपा विपद् व्यवस्थापन विभागका अध्यक्षसमेत रहेका कामपा–२५ का वडाध्यक्ष नीलकाजी शाक्यका अनुसार अनुदान सम्झौता गरेकामध्ये ५ हजार ७ सय ३० परिवारले पहिलो किस्ता लिएका छन् । उनले ७७ जनाले त पहिलो किस्ता पनि नलगेको बताए ।
पहिलो किस्ता रकम बुझ्नेहरूमध्ये पनि ९ सय ६९ ले मात्रै दोस्रो किस्ताको लागि निवेदन दिएका छन् । ‘यसको मतलब अधिकांश पीडितले घर बनाउन सुरु नै गरेका छैनन्,’ शाक्यले भने, ‘दोस्रो किस्ताको लागि निवेदन दिनेहरूमा पनि हालसम्म ६ सय ६८ ले मात्र रकम पाएका छन् ।’
सुरुमा पहिचान नभएका, तर छुटेर गुनासो भर्नेहरूको संख्या दोब्बर रहेको उनले बताए । ‘गुनासो भर्नेहरू कसैको पनि नाम निस्केको छैन । पीडितहरू दिनहुँ आउँछन् मसँग उनीहरूलाई फर्काउने कुनै जवाफ हुन्न,’ शाक्यले भने । उनका अनुसार उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरी २५ हजारभन्दा बढी भूकम्पपीडित परिवारले सरकारले दिने भनेको सहुलियत ऋण लिन नसक्दा घर बनाउन पाएका छैनन् । केही भूकम्प पीडितले बैंकका कर्मचारीस“गको व्यक्तिगत पहुँचका आधारमा ऋण लिएका छन् ।
सहुलियत ऋण नपाउँदा घर बनेन
सरकारले सहुलियत ब्याजमा बैंकमार्फत उपलब्ध गराउने भनेको रकम नपाउँदा काठमाडौं उपत्यकाकै हजारौँ भूकम्पपीडितले घर बनाउन सकेका छैनन् । भूकम्प पुनर्निर्माण प्राधिकरणलगायत सम्बन्धित सरकारी निकायले चासो नदिँदा उनीहरूले नयाँ घर बनाउनु त परको विषय पुरानो जीर्ण घर भत्काउनसमेत पाएका छैनन् । ‘पीडितहरू भूकम्प गएको तीन वर्षपछि पनि टेकोमै अडिएको चिरा परेको जर्जर घरमा जोखिमपूर्ण अवस्थामा बस्न बाध्य भएको महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले बताइन् । ‘दोस्रो किस्ता लिन घरको जग हाल्नुपर्छ,’ उनले भनिन्, ‘जग हाल्नुअघि घर भत्काउन र सफा गर्नुपर्छ, त्यसका लागि लाखौँ लाग्छ, कहाँबाट ल्याउँछन् पीडितले ।’