Friday, September 18, 2026
Home समाचार यसरी जनतासंग नजिकै हुदैं छ नेपाली सेना

यसरी जनतासंग नजिकै हुदैं छ नेपाली सेना

465
सांकेतिक तस्विर

जेठ १,
रुकुम । द्वन्द्वको समयमा निकै पिडा झेलेको रुकुम पश्चिमको खारा निकै चर्चामा रह्यो । यहाँका बासिन्दाले द्वन्द्वको प्रत्यक्ष मार खेपे । नेपाली सेना र तत्कालीन विद्रोही नेकपा (माओवादी)बीच पटक पटक लडाइँ भयो । त्यो समयमा यहाँका धेरैले ज्यान गुमाए । दुई दर्जनभन्दा बढी घरमा आगजनी भयो, उस्तै संख्यामा घाइते अपाङ्ग भए । खारावासी नेपाली सेना र प्रहरी देख्न बित्तिकै डराउने अवस्था रह्यो ।

यही द्वन्द्व प्रभावित क्षेत्रमा नेपाली सेनाले अहिले पाँच शय्याको अस्पताल निर्माण गरेको छ । नागरिक सैनिक सम्बन्ध विकास गर्ने हेतुले नेपाली सेनाको देवी दल गण रुकुमले रु ११ लाखको लागतमा अस्पताल निर्माण गरेको हो । उक्त अस्पतालाको आज औपचारिक कार्यक्रमका बीच स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ । अस्पताल निर्माणपछि द्वन्द्वको बेला बिग्रिएको सेना र जनताको सम्बन्ध सुधार हुने अपेक्षा राखिएको छ । स्थानीय र नेपाली सेना बीचको सम्बन्ध सुधार गर्न र यहाँको समस्या समधान गर्नका लागि अस्पताल निर्माण गरिएको देवी दल गण सल्लेका गणपति, प्रमुख सेनानी पंकज रावलले जानकारी दिनुभयो ।

“हाम्रो काम देशको सुरक्षा गर्नु मात्र होइन, जनतालाई परेका बेला सहयोग गर्नु पनि हो”–उहाँले भन्नुभयो, “खारा नजिकै गुणस्तरिय स्वास्थ्य संस्था नहुँदा जनताले स्वास्थ्य सेवा पाउनबाट बञ्चित थिए, त्यस कारण अस्पताल निर्माणमा सहयोग गरेका हौँ ।” सो अवसरमा उत्तर पश्चिम पृतना हेटक्वार्टरका पृतनापति उपरथी कर्मेन्द्र बिक्रम लिम्बूले त्रिवेणी गाउँपालिकाका अध्यक्ष झक्कुप्रसाद घर्तीलाई सो अस्पताल हस्तान्तरण गर्दै अस्पतालबाट गुणस्तरीय सेवा दिन आग्रह गर्नुभयो ।
अस्पताल निर्माण गरेर स्थानीय सरकारलाई सहयोग गरेको भन्दै गाउँपालिका अध्यक्ष घर्तीले सेनालाई धन्यवाद दिनुभयो । अब यसको सम्पूर्ण व्यवस्थापन गाउँपालिकाले गर्ने र आजैदेखि सेवा प्रदान गर्न शुरु गर्ने उहाँले जानकारी दिनुभयो ।

अस्पताल निर्माण गरी नेपाली सेनाले त्रिवेणीवासीलाई ठूलो गुण लगाएको छ, अध्यक्ष घर्तीले भन्नुभयो, “यसको व्यवस्थापन, औषधि खरिद र जनशक्तिका लागि गाउँपालिकाले पहल शुरु गरिसकेको छ ।”
अस्पताल निर्माण भएपछि यहाँका स्थानीय खुशी भएका छन् । गाउँमा अस्पताल नहँुदा दुई घन्टाको पैदल हिँडेर अर्को गाउँ जानुपर्ने समस्याको समाधान भएको स्थानीय वीरभान ओलीले बताउनुभयो ।