बैशाख २१,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणमा यही वैशाख २८ गते नेपाल आउने भएका छन् । प्रधानमन्त्री मोदीलाई सोही दिन काठमाडौंको टुँडिखेलमा विशेष समारोहमा स्वागत गरिनेछ ।
भ्रमणकाक्रममा प्रधानमन्त्री मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोही दिन प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षीसँग औपचारिक वार्ता गर्दै पारस्परिक हितका विविध विषयमा विचार आदान–प्रदान गर्नेछन् ।
साथै, दुवै प्रधानमन्त्रीले संयुक्तरुपमा अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्नेछन् । भारतका प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शिष्टाचार भेट गर्नेछन् । नेपालमा रहँदा प्रधानमन्त्री मोदीले जनकपुर र मुक्तिनाथको भ्रमण गर्नेछन् । साथै, काठमाडौं महानगरपालिकाले काठमाडौंमा र जनकपुर उपमहानगरपालिकाले जनकपुरमा उनको नागरिक अभिनन्दन गर्नेछन् । प्रधानमन्त्री मोदीको यो तेस्रो नेपाल भ्रमण हो । सन् २०१४ मा उनी दुईपटक नेपालको भ्रमणमा आएका थिए ।