संगठित अपराधका घटनामा संलग्न पाँच पक्राउ

210

वैशाख ५,
रुपन्देही । रुपन्देहीको विभिन्न संगठित अपराधका घटनामा संलग्न भएको भन्दै प्रहरीले रुपन्देहीका पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ परेका पाँचैजना प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके मनोज पुनका सहयोगी भएको बताइएको छ । पुनले उनीहरुलाई सुराकीका रुपमा प्रयोग गरेका थिए । बुटवल र देवदहका विभिन्न स्थानबाट मंगलबार पक्राउ परेका उनीहरुलाई आज इलाका प्रहरी कार्यालय बुटवलले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ शिवनगर निवासी उत्तम आचार्य, देवदह नगरपालिका–५ बस्ने तुल्सी न्यौपाने र देवदह नगरपालिका–४ निवासी लेखनाथ न्यौपाने, बुटवल उपमहानगरपालिका–४ बस्ने हरिप्रसाद श्रेष्ठ र देवदह नगरपालिका–६ का रोशन खड्का रहेको रुपन्देहीका प्रहरी उपरीक्षक श्यामप्रसाद ज्ञवालीले बताए । देवदह नगरपालिका–४ निवासी लेखनाथ माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् भने आचार्य युथ फोर्सका पूर्व जिल्ला नेता हुन् । रुपन्देहीका नारायण बस्नेतलाई गोली हानी ज्यान मार्ने उद्योग गरेको घटना, देवदहका दुर्गाप्रसाद तिवारीलाई गोली हान्ने प्रयास गरेको र २०७३ पुस ४ गते तिवारीलाई गोली हानी हत्या गरेको घटनामा उनीहरुको संलग्नता रहेको प्रहरीले बताएको छ । यसैगरी २०७४ पुस २१ गते बलु भन्ने वसन्त पौडेललाई गोली हानी हत्या गरेको घटनाका मुख्य योजनाकार मनोज पुन भन्ने मनोज बुढामगर र बिट्टु भन्ने योगेन्द्र सिंहसँग निरन्तर सम्पर्कमा रही जिल्लाका उद्योगी, व्यापारीको विवरण उपलब्ध गराउने र आपराधिक कार्य गराउन उनीहरुले फरक फरक भूमिका निर्वाह गरेको प्रहरी उपरीक्षक ज्ञवालीले बताए। उन्ले भने, “यी घटनामा संलग्न अझै दुईजना फरार छन् उनीहरुलाई पनि छिटै नियन्त्रणमा लिइने छ ।” जबर्जस्ती चन्दा असुलीलगायत जघन्य अपराध र गम्भीर प्रकारका घटनामा संलग्न भएका उनीहरुलाई कर्तव्य ज्यान मार्ने उद्योग, संगठित अपराध, जबर्जस्ती चन्दा असुली, हातहतियार खरखजाना मुद्दा लगाइने प्रहरीले बताएको छ ।