चैत १३,
कपिलवस्तु । शिवराज नगरपालिका–३, मदवाको उत्तरपट्टिको बीच जंगलमा सोमबार एक जना पुरुषको बेवारिसे शव फेला परेको छ। करीव ५५ वर्षको जस्तो देखिने पुरुषको शव गाउँलेले देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवको छेउमा तीनवटा सोंफीको बोत्तल र सेल्फासको बट्टा भेटिएकाले रक्सीसँगै बिष सेवन गरेको हुनसक्ने प्रहरी निरीक्षक झवीन्द्रप्रसाद भट्टराईले बताए। शवको प्रकृति हेर्दा एकदिन अघि मृत्यु भएको हुनसक्ने प्रहरीको भनाइ छ। मृतकको पहिचान अझै नखुलेको प्रहरीले बताएको छ। घटनास्थलबाट उठाएको शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।