चैत १३,
हेटौँडा । प्रदेश तीनको प्रदेशसभा बैठक मंगलबार दिउँसो १ बजे बस्ने भएको छ। मंगलबारदेखि विषयगत समिति गठन प्रक्रिया शुरु हुने भएको छ। सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले विषयगत समिति गठनको प्रक्रिया शुरु गर्ने कार्यसूची तय गरेको थियो। बैठकले प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति गठन गर्ने निर्णय गरेको छ। मंगलबारको बैठकमा सोमबार सहमति भएका समितिका सदस्यहरुको नाम सहमतिको लागि प्रस्तुत हुने छ भने समितिका सभापतिको निर्वाचनको मिति तोकिने प्रदेशसभा सचिव भरतकुमार बुढाथोकीले बताए। त्यसैगरी, आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले ‘प्रदेशका केही सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले ‘प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक’ प्रस्तुत गर्ने कार्यसूची छ। बैठकमा मन्त्रिपरिषद् विस्तार तथा पुनर्गठन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्र पढेर सुनाउने र कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनियन गरेकोबारे सभामुखले बताउने कार्यसूची छ। बैठक चैत १६ गतेसम्म सञ्चालन हुने बताइएको छ।