यहिँ मंगलबार सूर्यबिनायकमा ‘गणेश चतुर्थी’ भव्य रुपमा मनाइने

22

भक्तपुर । भक्तपुरको प्रसिद्ध सूर्यबिनायक मन्दिरमा यस वर्षको गणेश चतुर्थी पर्व भव्य र हर्षोल्लासका साथ मनाइने भएको छ। गणेश चतुर्थीका अवसरमा रथयात्रासहित सिन्दुर जात्रा गर्ने तयारी गरिएको छ। सूर्यबिनायक नगरपालिका वडा नं. ८ का अध्यक्ष एवंम सूर्यबिनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले संस्कृति, परम्परा, आस्था र एकताको उत्सवका रूपमा गणेश चतुर्थीलाई भव्य र सभ्य रूपमा मनाउने तयारी गरिएको बताए। उनका अनुसार गणेश जात्राका अवसरमा रथयात्रासहित सिन्दुर जात्रा गरिनेछ। आस्थाको धरोहरका रूपमा रहेको जात्रा सूर्यबिनायक गणेश मन्दिरबाट सुरु गरी भक्तपुरका वडा नम्बर ६ र ८ को परिक्रमा गराउँदै सूर्यबिनायक चोकसम्म पुर्‍याइनेछ। त्यसपछि पुनः मन्दिरमा लगिने बस्नेतले बताए। यो वर्ष भदौ ३० गते र्मगलबार गणेश चतुर्थीको भव्य रुपमा मनाउने तयारी भईरहेको छ ।

सूर्यबिनायकको गणेश मन्दिर भक्तजनको आस्था र धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा समेत परिचित छ। गणेश चतुर्थीका अवसरमा हुने रथयात्रा, सिन्दुर जात्रा तथा धिमेबाजासहितको सांस्कृतिक गतिविधिले स्थानीय मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई थप जीवन्त बनाउने अपेक्षा गरिएको छ।
जात्रालाई व्यवस्थित रूपमा सम्पन्न गर्न सूर्यबिनायक तीनधारा खानेपानी सरसफाइ उपभोक्ता समिति, ढलचा गुठी, मूल पुजारी इश्वरी प्रसाद भट्टराई तथा विभिन्न धिमेबाजा समूहहरूको समेत सक्रिय सहभागिता रहने बस्नेतले जानकारी दिए। २०७८ सालदेखि भव्य र सभ्य रूपमा मनाउँदै आएको यो जात्राको संरक्षण र प्रवर्द्धनमा स्थानीय तह तथा स्थानीयवासीले खेल्दै आएको भूमिका अहंम रहेको उनको भनाइ छ।