बाढीमा बेपत्ता परिवारका बालबालिका शिक्षादेखि पोषणसम्मको जिम्मेवारी लिँदै भोटेकोसी गाउँपालिका

7

सिन्धुपाल्चोक : रसुवाको भोटेकोसी खोलामा आएको बाढीबाट बेपत्ता भएका सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका परिवारलाई तत्काल राहत तथा सहयोग उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ। बाढीमा गाउँपालिकाका ७३ परिवारका सदस्य बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको गाउँपालिकाले जनाएको छ। बेपत्ता परिवारका बालबालिकाको तत्काल पोषणका लागि खाद्यान्न उपलब्ध गराउने र प्रभावित परिवारलाई राहतस्वरूप आर्थिक सहयोग गर्ने निर्णय गाउँपालिकाले गरेको छ। सोमबार बेपत्ता भएका ७३ परिवारका सदस्य तथा उनीहरूको पारिवारिक अवस्थासहितको सम्पूर्ण विवरण संकलन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने निर्णयसमेत गरिएको गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु लामाले जानकारी दिए।

अध्यक्ष लामाका अनुसार गाउँपालिकाले बेपत्ता परिवारका सदस्यसँग प्रत्यक्ष छलफल गरी उनीहरूको तत्काल आवश्यकता पहिचान गर्न थालेको छ।
‘आज हामीले बेपत्ता परिवारका सदस्यसँग छलफल गरेका छौँ। उहाँहरूलाई अहिले कस्तो सहयोग आवश्यक छ भन्ने बुझेर तत्काल उपलब्ध गराउने गरी गाउँपालिकाबाट निर्णय गरिएको छ,’ अध्यक्ष लामाले भने।बाढीका कारण परिवारको मुख्य आम्दानी गर्ने सदस्य नै बेपत्ता भएपछि बालबालिकाको शिक्षा र परिवारको दैनिक जीवनमा समेत गम्भीर समस्या उत्पन्न भएको गाउँपालिकाले जनाएको छ। त्यसैले प्रभावित परिवारका बालबालिकाको शिक्षालाई प्राथमिकतामा राखेर दीर्घकालीन सहयोगको योजना अघि बढाइने अध्यक्ष लामाले बताए। गाउँपालिकाले राहत तथा पुनःस्थापनाका विषयमा सर्वदलीय बैठकसमेत आयोजना गरेको छ। बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिले पनि प्रभावित परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउन सबै पक्ष एकजुट हुनुपर्ने सुझाव दिएका छन्। नेपाली कांग्रेस सिन्धुपाल्चोकका जिल्ला उपसभापति दोर्जे लामाले बेपत्ता परिवारका बालबालिकाको शिक्षाका लागि स्थानीय सरकार र व्यवसायीबीच सहकार्य आवश्यक रहेको बताए।