काठमाडौं । चितवनको भरतपुरमा यहिँ असार ७, ८ र ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम महाधिवेशन हुँदैछ । महाधिवेशनका लागि रास्वपाले १९ वटा प्रक्रियामार्फत प्रतिनिधि चयन गर्ने व्यवस्था गरेको छ । पार्टी संरचना र मनोनीत प्रतिनिधिको टुंगो लाग्ने गरी कार्यविधि बनाइएको रास्वपाले जनाएको छ । कार्यविधिअनुसार पार्टीको केन्द्रीय समितिमा रहेका सबैजना स्वतः महाधिवेशन प्रतिनिधि हुने छन् । हाल रास्वपामा ८६ जना केन्द्रीय सदस्य छन् । यस्तै, प्रतिनिधिसभाका १८१ सांसदहरू महाधिवेशन प्रतिनिधि हुने भएका छन् । केन्द्रीय सदस्य र सांसद गरी दुई जिम्मेवारीमा रहनेको संख्या ४२ छ । उनीहरू दुवैतर्फबाट स्वतः प्रतिनिधि छनोट भएका छन् ।
पार्टीको केन्द्रीय तहमा रहेका अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोगबाट पदाधिकारी र सदस्यहरू पनि महाधिवेशन प्रतिनिधि हुने छन् । रास्वपाले प्रतिनिधि छनोट कार्यविधिमा पार्टी केन्द्रीय कार्यालयको बेवसाइटमा अद्यावधिक भएका आयोग पदाधिकारी र सदस्यलाई मात्रै प्रतिनिधि बनाउने उल्लेख गरिएको छ ।
पार्टीको पोर्टलमा अद्यावधिक गरिएको सूची र महाधिवेशनका लागि बनाइएको कार्यविधिअनुसार सल्लाहकार परिषद्का ८, अनुशासन आयोगका ११, निर्वाचन आयोगका १० र लेखा आयोगका २ जना महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गरिएको छ ।
रास्वपाका ३८ विभागमा प्रत्येकबाट ११ जना महाधिवेशन प्रतिनिधि रहने छन् । त्यसअनुसार विभागहरूबाट मात्रै ४१८ जना प्रतिनिधिले महाधिवेशनमा भाग लिने छन् ।
प्रदेश समितिका सबै सदस्य महाधिवेशनका प्रतिनिधि हुने कार्यविधि बनाइएको छ । रास्वपाले प्रदेश समितिको आकार फरकफरक हुने गरी विधानमा व्यवस्था गरेको छ ।
कोशीमा ६१, मधेशमा ५९, बागमतीमा ६५, गण्डकीमा ४७, लुम्बिनीमा ५७, कर्णालीमा ४१ र सुदूरपश्चिममा ४३ सदस्यीय प्रदेश समिति बनाउने विधानको प्रावधान छ । यीमध्ये मधेशको अधिवेशन भएको छैन । अधिवेशन हुन नसकेको मधेशको तदर्थ समितिका सात पदाधिकारी मात्रै महाधिवेशन प्रतिनिधि बन्न पाउने छन् । अधिवेशन भएका ६ प्रदेश समितिबाट ३१४ जना र तदर्थ समिति रहेको मधेशबाट सात जना गरी प्रदेश समितिबाट ३२१ प्रतिनिधि हुने व्यवस्था गरिएको छ । प्रदेशबाट अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोगका पदाधिकारीहरू ३–३ जनाका दरले एउटा प्रदेशबाट तीन आयोगका ९ जना प्रतिनिधि हुँदा सात प्रदेशका गरी ५६ जना प्रदेश तहका आयोगहरूबाट
-सात प्रदेशबाट २१ जना
-अधिवेशन हुन नसकेका र मान्यता नदिएका गरी १५ जिल्लाका तदर्थ समितिबाट ३–३ जना प्रतिनिधि
-नयाँ समिति बनेका ६२ जिल्लाबाट ३१० जना प्रतिनिधि
-भारत, कतार, साउदी अरेबिया, दुबई र मलेसियाबाट ११ जना
-संघीय निर्वाचन क्षेत्रबाट संयोजकसहित दुई जना
-गाउँपालिकाबाट १, नगरपालिकाबाट २, उपमहानगर ३, महानगरबाट ४ जना संघीय नेतृत्व मञ्चका २४ सदस्य महाधिवेशन प्रतिनिधि
-२०८२ सालमा प्रतिनिधिसभामा उम्मेदवार बनेका तर पराजित भएका उम्मेदवार प्रतिनिधि, पराजित भएका रास्वपाका ३८ उम्मेदवार महाधिवेशन प्रतिनिधि
-२०७९ सालमा उम्मेदवार बनेका सबै जना महाधिवेशन बन्ने विधि बनाइएको छ । त्यसबेला रास्वपाले १११ जना उम्मेदवार उठाएको थियो । तीमध्ये कतिपय हाल केन्द्रीय समितिमा र सांसद पनि छन् ।
-केन्द्रीय समितिले महाधिवेशन प्रतिनिधिका लागि २०० जना मनोनीत गर्ने व्यवस्था गरिएको छ । रास्वपाको निर्वाचन आयोग अनुसार महाधिवेशनका लागि ३ हजार हाराहारी प्रतिनिधि हुने अनुमान गरिएको छ ।














