सर्वोच्चको आदेशः गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउनु

4

काठमाडौं । सर्वोच्च अदालतले उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हिरासतमा राखेपछि हालिएको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले मंगलबार उक्त आदेश दिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले विपक्षीहरूका नाममा उक्त आदेश जारी गरेको हो ।
गोल्छाकी पत्नी सीमाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै अदालतले २४ घण्टाभित्र बन्दीसहित लिखित जवाफ पेश गर्न विपक्षीहरूको नाममा आदेश दिएको हो ।

गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न सोमबारमात्रै काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो ।
न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले थुना म्यादको अनुमति दिएको थियो । गोल्छालाई सीआईबीको टोलीले ९ वैशाखमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।