टवल । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको अधिकारको लडाइँ हुँदा बालेन्द्र शाह (बालेन) कहाँ थिए भन्दै प्रश्न गरेका छन् । उनले मधेशको मुद्दामा बालेनको कुनै धारणा नरहेको बताए । जसपा नेपाल रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । ‘राष्ट्रिय राजनीतिमा पनि बालेनको कुनै धारणा सुनिदैन । वैचारिक स्पष्टता छैन, दर्शन के हो थाहा छैन, मुद्दा के हो थाहा छैन,’ उनले भने ।मधेशको मुद्दा बोक्ने, आदिवासी जनजाति, महिला, उत्पीडित वर्ग, महिला र राष्ट्रिय समस्यालाई बोक्ने पार्टी जसपा नेपाल नै उनले दाबी गरे । ‘मधेशका जनताले तीनलाई राम्रोसँग बुझेका छन् । त्यसैले घण्टी हल्लाउँदैमा हल्लिनेवाला छैन । अलिकति सोसल मिडियाहरूमा अलि बढी घण्टी बज्या जस्तो छ । तर, यथार्थ ग्राउन्ड रियालिटी त्यस्तो देखिँदैन,’ अध्यक्ष यादवले भने । मधेशको समस्या, आदिवासी जनजाति, दलित, अल्पसंख्यको मुस्लिम, दलित, थारू, पिछडा वर्गको समस्या आज राष्ट्रिय समस्याहरू भएको उनले बताए । यसलाई समाधान गरे मात्र राष्ट्रिय एकता र विकासको गति अगाडि बढ्छ भन्ने आफूहरूको मान्यता रहेको उनले बताए ।














