रुपन्देही-३ मा जसपाका उम्मेदवार एमाले प्रवेश

6

बुटवल — रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा जनता समाजवादी पार्टी नेपालका उमेदवार नै एमाले प्रवेश गरेका छन् । जसपा नेपालका उम्मेदवार रहेका श्रीनिवास यादवले उमेदवारी फिर्ता लिँदै एमाले उमेदवारलाई सहयोग गर्ने विज्ञप्तिमार्फत जनाएका हुन् । यादवले सोमबार विज्ञप्ति जारी गर्दै पार्टीको सम्पूर्ण जिम्मेवारीसहित साधारण सदस्यसमेत नरहने गरी पार्टी छोडेको सार्वजनिक गरेका हुन् । प्रचलित कानुनअनुसार उम्मेदवारी दर्ता गरी मतदाताको घरदैलोमा पुगेको उल्लेख गर्दै वर्तमान विषम राष्ट्रिय परिस्थितिमा मुलुकको राजनीतिक स्थायित्व र निकासका लागि एमाले नै प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित हुने बताएका छन् । ‘देश, जनता र राष्ट्रप्रति वफादार बन्दै आजका मितिदेखि जनता समाजवादी पार्टी (जसपा), नेपालको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै मेरो उम्मेदवारीसमेत फिर्ता लिँदै नेकपा (एमाले) मा समाहित भएको घोषणा गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ । उनले आफूलाई माया, स्नेह र विश्वास गर्ने सम्पूर्ण मतदातालाई एमालेको चुनाव चिह्नमा मतदान गरी एमाले रुपन्देही–३का उम्मेदवार वासुदेव घिमिरेलाई विजयी गराउन पनि अपिल गरेका छन् ।