कविताः विभेद

8

बिमला चन्द सानू
जाग्छन् चेत विभेदका यदि भने मान्छे भयौं के गरी
मार्‍यौ मानवता मर्‍यो मनुजता पाताल आयौ झरी
जन्मेको पनि कोख मन्दिर न हो लाग्दैन भन्छौ डर
आमा हुन् जननी यहाँ प्रथममा तिम्रो त्यही हो घर ।

कस्तो चाह रहेछ मर्दछ यहाँ मान्छे हुने चाहना
काला कर्तुत ढाक्न सक्छ कसरी मर्दैछ यो कामना
भन्दैछन् अब जाग है सुजन हो सारा जहाँका यहाँ
धेरै स्वार्थ भयो भने सुपुतमा के न्याय होला त्यहाँ ।

मान्छेका विच हुन्छ दानव यहाँ मान्छे जसै देखिने
जो विश्वास थियो मर्‍यो सहजले धोका दिई रेटिने
पक्का कागजका बनेर पुतली मान्छे बने नामका
हार्‍यो हिम्मत जुध्न सम्म नसकी भोका सबै दामका ।

पुज्छौँ ईश्वर नामले भुवनमा छन् यी चिकित्सक् भनी
कस्तो खेल गर्‍यौ यहाँ कपुतले संसार काप्ने गरी
आमाबाबु र भाइ छन् घर भरी बिर्स्यौ भने कातर
देखेनौ किन मातृरूप बहिनी होला सबैको घर ।

हे छोरी अब झुक्नुहुन्न कहिले सोझो नबन्नू तिमी
अत्याचार भयो भने कदापि पहिल्यै डर्छन् नभन्नू तिमी
जाग्नैपर्दछ आज सोच बलियो फालेर आडम्बर
छन् फोहोर समाजमा जति थरी मिल्काउने छौँ पर ।।

बैतडी
हाल : काठमाडौं