काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको ‘गैरदलीय सरकार’ का मन्त्री र सल्लाहकार नै राजनीतिक दलका गतिविधिमा सक्रिय बन्न थालेका छन् । मन्त्री र सल्लाहकार नै राजनीतिक दलमा आबद्ध हुँदा चुनावी सरकारको कार्यसम्पादनमा निष्पक्षताको प्रश्न उठ्ने देखिएको छ । २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन गराउने ‘म्यान्डेट’ सहित गठन भएको सरकारका भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ रास्वपाका उपसभापति छन् । रास्वपा र घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच भएको सहमतिपत्रमा एकतापछि उनी उपसभापति हुने उल्लेख छ । घिसिङ त्यसअघि उज्यालो नेपाल पार्टीका गतिविधिमा सहभागी हुँदै आएका थिए । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
रास्वपा र उज्यालो नेपालबीच एकतासम्बन्धी वार्ता र छलफलमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता सक्रिय बनेका थिए । घिसिङ र गुप्ता दुवै रास्वपाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उठ्ने तयारीमा छन् । मन्त्री घिसिङ भने अहिलेसम्म औपचारिक रूपमा कुनै पनि दलमा नरहेको दाबी गर्छन् । ‘प्रधानमन्त्रीले केही जिम्मेवारी दिएर मलाई मन्त्री बनाउनुभएको हो । ती जिम्मेवारी केही दिनमै पूरा हुँदै छन् । त्यसपछि भने चुनाव पनि नजिकिँदै गएकाले राजनीतिमा पूर्ण रूपमा सक्रिय हुने योजना छ,’ उनी भन्छन्, ‘सार्वजनिक रूपमा प्रश्न उठेको विषयमा केही दिनमै निर्णय गर्दै छु ।’
खेलकुदमन्त्री गुप्ता कुनै ठाउँमा जाँदैमा र कसैलाई भेट्दैमा दलमा लाग्यो भनेर आरोप लगाउन नहुने बताउँछन् । ‘म कुनै दलीय गतिविधिमा संलग्न छैन, न कुनै दलको सदस्यता लिएको छु,’ मन्त्री गुप्ता भन्छन्, ‘निर्वाचनमा कुनै दलसँग आबद्ध भएर लड्ने अवस्था आयो भने सरकारबाट राजीनामा दिएर जान्छु ।’














