पहेँलो दाँतलाई सेतो बनाउने विधि

33

काठमाडौँ — ‘डेन्टल ब्लिचिङ’ अथवा टुथ हृवाइटिङ’ एउटा साधारण कस्मेटिक प्रक्रिया हो, जुन अहिले लोकप्रिय छ । ब्लिचिङका माध्यमबाट दाँतलाई नेचुरल रङभन्दा पनि सेतो बनाइन्छ र यो धेरै लामो प्रक्रिया नभई एकपटकमै सम्भव हुन्छ । यो धेरै लामो प्रक्रिया नभई एकपटकमै सम्भव हुन्छ । दाँत ब्लिचिङका अनेक विधि छन् । जस्तै: इन अफिस क्लिनिकल ब्लिचिङ, होम ब्लिचिङ तथा इन्टरनल ब्लिचिङ । दाँत ब्लिचिङ गर्नुअघि डेन्टिस्टले दाँतको चेक गर्नुपर्ने हुन्छ र केही एलर्जी र सिरिङ–सिरिङ भएको जानकारी बिरामीले पहिले नै दिनुपर्छ ।

हाम्रा दूधे दाँतहरू अन्य दाँतभन्दा सेता हुन्छन् तर पछि आउने स्थायी दाँत केही पहेँला हुन्छन् । त्यसबाहेक हामीले खाने खाना, तरकारी, चिया, कफी, रेड वाइन, चुरोट, सुर्ती आदिले गर्दा पनि दाँतमा स्टेन बस्छ । टेट्रासाइक्लिन क्लोराडाइन भएको माउथवास लामो समयसम्म प्रयोग गर्दा पनि दाँत पहेँला देखिन्छन् । कुनै स्टेन साधारण स्केलिङले जान्छ भने कुनै ब्लिचिङ नै गर्नुपर्ने हुन्छ ।दाँत ब्लिचिङ गर्नुअघि दाँतको सेड जाँच गरेर फोटो खिचिन्छ । ब्लिचिङ सकिएपछि त्यसलाई पहिलेको कलरसँग तुलना गरिन्छ । कलर चित्त नबुझेको खण्डमा त्यही प्रक्रिया फेरि दोहोर्‍याइन्छ । ब्लिचिङ गरेको दाँत करिब ६ महिनासम्म सेतो रहन्छ । बिरामीको खानामा पनि सेतोपन कति टिक्छ भन्ने कुरा भर पर्छ ।