काठमाडौं । निर्देशक दिनेश राउतको नयाँ प्रेम कथानक ‘कुमारी’को पहिलो गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक भएको छ। गीत सार्वजनिकसँगै निर्माण टिमले फिल्मको रिलिज मिति पनि घोषणा गर्दै माघ २३ गते देशभर प्रदर्शनमा आउने जनाएको छ। रिलिज मिति ‘भ्यालेन्टाइन डे’ नजिक परेकाले फिल्मले युवा दर्शकलाई लक्ष्य लिएको बुझिन्छ। यसअघि टुँडिखेलमा भव्य रूपमा आयोजना गरिएको घोषणा कार्यक्रममा यो गीतको लाइभ प्रस्तुति गरिएको थियो। गायक केहर सिंह लिम्बु तथा उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’ले प्रस्तुत गरेको यो गीत हाल युट्युब र टिकटकमा विशेष गरी ‘जेन-जी’ पुस्ताबिच निकै लोकप्रिय छ।
फिल्मको मुख्य भूमिकामा अबिषेक खड्का र आकृति राजभन्डारी रहेका छन्। दुवै कलाकार यसै फिल्ममार्फत मुख्य भूमिकामा डेब्यु गरेका हुन्।‘आइ एम सरी’बाट निर्देशन यात्रा सुरु गरेका राउत ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथाका लागि चिनिन्छन्। पछिल्ला वर्षमा सामाजिक विषयमा केन्द्रित फिल्म निर्देशन गर्दै आएका राउतले दर्शकको रुचिअनुसार फेरि प्रेमकथामा फर्किएको बताएका छन्। उनका अनुसार ‘कुमारी’को प्रोजेक्ट ‘पुजार सार्की’भन्दा अघि प्रारम्भ भए पनि विभिन्न कारणले अहिले आएर मात्र बनेको हो।‘कुमारी’मा चार गीत रहनेछन्। सबै गीतमा स्वर केहर सिंह लिम्बुले दिएका छन् भने सङ्गीतमा लिम्बुसँगै सुमन तामाङ र प्रशान्त सिवाकोटीको सहभागिता रहेको छ। गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन्। बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण भएको यस फिल्मका निर्माता महेन्द्र अधिकारी हुन्। स्क्रिप्ट विकास सुवेदीले लेखेका छन् भने छायाङ्कन निर्देशन सुसन प्रजापतिले गरेका हुन्। कार्यकारी निर्माता केदार भुसाल हुन्।













