वर्षेनि १ लाख ९३ हजार नेपालीको जीवन नसर्ने रोगबाटै सकिन्छ

11

काठमाडौँ : नेपालमा सबैभन्दा धेरै मृत्युको मुख्य कारण नसर्ने रोग हुने गरेको पाइएको छ। नेपाल ‘बर्डेन अफ डिजिज’ को पछिल्लो तथ्यांकअनुसार वार्षिक १ लाख ९३ हजार ३३१ जना नेपालीको मृत्यु हुन्छ। तीमध्ये सबैभन्दा धेरै मृत्यु वार्षिक एक लाख ३७ हजार ५५३ ( कुल ७१ प्रतिशत) जनाको मृत्यु मुटु मिर्गौला क्यान्सर दीर्घ प्रकारका श्वासप्रश्वास सम्बन्धी स्वास्थ्य समस्या सीओपीडी, दम जस्ता जटिलताले हुने गरेको छ।नसर्ने रोगमा सबैभन्दा धेरै मृत्यु मुटु र मुटु सम्बन्धी रक्तनली सम्बन्धी स्वास्थ्य समस्याबाट हुने गरेको छ। मुटु र मुटु सम्बन्धी रक्तनली समस्याबाट वार्षिक ४६ हजार ३९९ नेपालीले जीवन गुमाउँछन्। यस्तै क्यान्सर रोगले वार्षिक २१ हजार ६५३ नेपालीले जीवन गुमाउँछन्। सीओपीडी, दम जस्ता दीर्घ प्रकारका श्वासप्रश्वास सम्बन्धी रोगले ४० हजार, ७९२ नेपालीको जीवन समाप्त हुन्छ।

मधुमेह र मिर्गौला रोगका कारण ८ हजार ५०३ जना नेपालीको वार्षिक रूपमा जीवन समाप्त हुन्छ। आन्द्रा सम्बन्धी स्वास्थ्य समस्याबाट वार्षिक ६ हजार ९५९ जना नेपालीको मृत्यु हुन्छ। यस्तै पछिल्ला वर्षमा नेपालीको मृत्यु हुने कारणमा मानसिक स्वास्थ्य समस्या पनि प्रमुख जस्तै रहेको छ। वार्षिक ४ हजार ४४६ जना नेपालीले मानसिक सम्बन्धी स्वास्थ्य समस्याबाटै ज्यान गुमाउने गरेका छन्। यस्तै खाना सम्बन्धी (पाचन प्रणाली) सम्बन्धी रोगले ११ हजार ४०६ नेपालीले वार्षिक रूपमा जीवन गुमाउँछन्।