बिहान उठेर तयार हुनु हामी सबैले दैनिक गर्ने एउटा काम हो, चाहे अफिस जाने बेलामा होस् वा कलेज जाने बेला । तयार हुने कुरामा केही महिलाहरू अरूको तुलनामा धेरै मेहनत गर्छन् वा अलि राम्रोसँग तयार हुन रुचाउँछन् ।बिहान हामी अफिस जानका लागि औपचारिक लुगा लगाउँछौँ, दिउँसो साथीसँग लन्च जानका लागि क्याजुअल पोशाक छान्छौं । र, साँझ डिनरमा जानका लागि फरक ड्रेसअप गर्न रुचाउँछौँ । प्रत्येक पोशाकमार्फत हामी अरूसँग गैर–मौखिक रूपमा सञ्चार गर्छौं, चाहे यो जानाजान होस् वा अन्जानमा ।यसमा कुनै शंका छैन कि, हामीले लगाउने लुगाले हामीलाई परिभाषित गर्छ किनभने फेसनले हाम्रो पहिचान र हामीले कस्तो महसुस गर्छौं भन्ने कुरा व्यक्त गर्न पनि मद्दत गर्छ ।
हामीले दैनिक आधारमा लगाउने लुगाले हामी अरूको अगाडि आफूलाई कसरी प्रस्तुत गर्न चाहन्छौं भन्ने देखाउँछ । लुगाले हाम्रो संज्ञानात्मक क्षमतामा पनि प्रभाव पार्न सक्छ ।फेसन ट्रेन्ड र राम्रो देखिनका लागि हामीले कति मेहनत गर्छौं, यो महिलाहरूलाई भन्दा कसले राम्रोसँग बुझ्न सक्छ होला र ! महिलाहरू आकर्षक देखिनका लागि कहिलेकाहीं जिन्सको सट्टा लुज प्लाजो लगाउँछन् ता कि खुट्टा पातलो नदेखियोस् ।
कतै न कतै, हामी सबैले हाम्रो मनपर्ने लुगा लगाउने इच्छालाई मार्छौं र समाजको सौन्दर्य मापदण्डमा खरो उत्रिनका लागि हाम्रो फेसन छनोटसँग सम्झौता गर्छौं । यद्यपि हामी यो हरेक दिन गर्छौं तर हामीले यो कुरालाई कमै महसुस गर्छौं कि, यसले हाम्रो मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ । साधारण शब्दमा भन्नुपर्दा, शारीरिक छविको मतलब हो-कुनै व्यक्तिले आफ्नो शरीरलाई कसरी हेर्छ । यसमा उसको विचार, भावना र आत्म–धारणा पनि समावेश हुन्छ । त्यसैले, हरेक पटक जब व्यक्ति ऐनाको अगाडि उभिएर शरीरमा धेरै बोसो बढेको छ, हात धेरै पातलो छ वा शरीर असमान छ भन्छ, तब आफ्नो शारीरिक छविलाई नष्ट गर्छ । नियमित रूपमा यस्तो प्रकारको आक्रमणले आत्मसम्मानलाई कम गर्छ ।सामाजिक सौन्दर्य मापदण्डहरू पालना गर्नाले हाम्रो मानसिक स्वास्थ्यमा मात्र नभई शारीरिक स्वास्थ्यमा पनि प्रभाव पार्न सक्छ, किनभने केटीहरू आफूलाई फिट देखाउनका लागि टाइट बडी सेपर्स लगाउँछन् जसले शरीरमा हसहज हुन सक्छ ।













