धनगढीका बासिन्दाको गुहारः डिपो हटाइदेउ न सरकार

11

हेमराज ढकाल
काठमाडौं । नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय कैलाली जिल्लाको धनगढीस्थित डिपो सार्न स्थानीयले सरकारसंग माग गरेका छन् । वि.स २०३७ सालमा स्थापना भएको यो डिपो १ बिघा १८ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । सो कार्यालयका प्रमुख हरिदत्त जोशीका अनुसार यहाँबाट अहिले दैनिक एक सय किलोलिटर पेट्रोल, तीन सय किलो लिटर डिजेल तथा र मट्टितेल बिक्री हुँदै आएको छ । करिब २ सय किलोमिटर भारतको बन्थरास्थित इण्डियन आयल कर्पोरेसन (आइओसी)को डिपोबाट कैलालीको गौरीफन्टा नाका हुँदै धनगढी डिपोमा पेट्रोलियम पदार्थ आयात हुँदै आएको प्रमुख जोशीले बताए । स्थान अभावका कारण दैनिक कार्य संचालनमा समेत समस्या हुदैं आएको उनको भनाई छ ।

बिगतमा बस्ती नभएपनि क्रमशः यस क्षेत्र वरपर केही वर्षयता बाक्लो रुपमा मानविय बस्ती विकाश भई रहेको छ । त्योसंगै विद्यालय, व्यापारिक प्रतिष्ठान, अस्पताल, मुख्य सडक र सहायक सडकलगायतका धेरै संरचनाहरु समेत निर्माण भएकाले धनगढी उपमहानगरपालिका वडा नं. ३ चटकपुरमा रहेको डिपो स्थानान्तरण गर्न विगत केही वर्ष यता स्थानीय समुदायले माग गर्दै आइरहेको छ ।

डिपोकोसंगै रहको शुभकामना टोल विकास संस्थाका अध्यक्ष दीर्घराज ओझाका अनुसार यहाँ हाल ७८ घरघुरी रहेको छ । “हामीले हरेक दिन त्रासको वातावरणमा बस्नु परेको छ, सरकारले छिटोभन्दा छिटो डिपो अन्यत्र सार्नु पर्दछ,” टोल विकाश समितका अध्यक्ष ओझाले भने । सरकार र निगमले स्थानीयको मागलाई सुनुवाई नगरे आन्दोलनको कार्यक्रम घोषणा गरेर अगाडी बढ्ने चेतावनी समेत स्थानीयले दिएका छन् ।

पेट्रोलियम पदार्थ भण्डारण गरिएका ठूल्ठूला ट्याङ्क नजिकै बस्ती भएको र इन्धन लोडअनलोड भइरहँदा घरमा आगो बाल्न पनि डराउनुपर्ने अवस्था रहेको स्थानीयको गुनासो छ । उक्त डिपोमा अहिले डिजेल भण्डारणका लागि सात सय ६० किलोलिटरका दुई वटा भर्टिकल ट्याङ्क र ७० किलोलिटरको भूमिगत ट्याङ्क तथा पेट्रोल भण्डारणका लागि सात सय ६० किलोलिटरको एक भर्टिकल ट्याङ्क र ७० किलोलिटरको भूमिगत ट्याङ्कसहितको संरचना छन् ।

निगमको केन्द्रीय कार्यालयले भण्डारण क्षमता अभिवृद्धि परियोजनाका प्रमुख प्रदीपकुमार यादवको संजोजकत्वमा समिति बनाएर जग्गा पहिचानको काम अघि बढाएको थियो । सो समितिले कैलालीको अत्तरिया चोकबाट ६ किलोमिटर पूर्वतर्फ पूर्वपश्चिम राजमार्गको उत्तरतर्फको करिब २० बिघा जग्गा डिपो स्थानान्तरणका उपयुक्त रहेको भन्दै प्रक्रिया अघि बढाउन सिफारिस गरेको थियो । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय आवास कम्पनीले कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं ३ र ५ मा रहेको २२ बिघा जग्गा निगमलाई बिक्री गर्ने प्रस्ताव अघि बढाए पनि जग्गा खरिदमा भने अन्योल देखिएको थियो । निगमले स्थानीय सरोकारवालासंग लामो छलफल गरेपनि कैलालीको डिपो सार्ने कामले निष्र्कष पाउन सकेको छैन् । निगम केन्द्रिय कार्यालयले भने स्थानान्तरण गर्ने काम जारी रहेको जानकारी दिएको छ । धनगढी डिपोले सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरा जिल्लामा पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको छ ।