दशैँ शुरु भएसँगै बेसी झर्न थाले भेडीगोठ

10

बागलुङ : दशैँ लागेसँगै लेकबाट भेडीगोठ बेसी झन थालेका छन्। जेठ दोस्रो सातादेखि लेक उक्लिएका गोठाला दशैँ शुरु भएसँगै बेसी झर्न थालेका हुन्।चार महिनालेकमा बसेका गोठालाहरू परिवारसँग भेट्ने आशा बोकेर बेसी झरिरहेका छन्। बागलुङको निसीखोला, ढोरपाटन, तमानखोलालगायत क्षेत्रबाट स्थानीय वर्खाको समयमा वस्तुभाउ लिएर लेक उक्लिने गर्छन्। गोठालाहरू ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पर्ने टीकाधारा, फागुने, गर्पाछेडा, स्याचुङसहित निसीखोलाको रिग, खोलाखानी, तिलाचन र तमानखोलाको सोलेडाँडालगायत क्षेत्रमा पुग्ने गर्छन्। ती क्षेत्र समुद्री सतहदेखि तीन हजारदेखि चार हजार पाँच सय मिटरको उचाइसम्म पर्छन्। लेकबाट भेडीगोठ बेसी झर्न थालेपछि बेसी क्षेत्रमा गोठालाको चहलपहल बढेको छ। पश्चिम बागलुङका धेरै किसान पशुपालनमा आबद्ध रहेका छन्। चार महिनापछि बेसी झरेका गोठालालाई ठूलो पर्व नै आएको छ।

महिनौँ परिवारसँग टाढिएका उनीहरू अब आगामी जेठ महिनासम्मसँगै हुने छन्। एकै परिवारले दुई सयदेखि एक हजार बढीसम्म भेडा पाल्दै आएका छन्। गोठालाहरू हप्तौँको यात्रा गरेर बुकी चढ्ने र बेसी झर्ने गर्छन्। बेसीमा भन्दा बुकी क्षेत्रमा भेडाबाख्राका लागि चरन क्षेत्र र पोषिलो घाँस पर्याप्त पाइने हुँदा जेठदेखि नै लेक चढ्न थाल्छन्। यतिवेला ढोरपाटन उपत्यका, पातीहाल्ने, सोलेडाँडा, भर्कोबाङलगायत क्षेत्रमा भेडाको ठूलो बथान भेटिन्छन्। यो समय भेडाबाख्रा बेच्ने सिजन भएको हुँदा गोठालाहरू बेसी झरेर बजार तिर लाग्ने गर्छन्। बेसी झरेका गोठालेहरू अब केही दिनमै मुख्यमुख्य शहरसम्म हप्तौँ दिन हिँडेर भेडाबाख्रा बेच्न जाने गर्छन्। दशैँका लागि भेडा च्याङ्ग्रा बेचेर खर्च जोहो गर्छन्। निसीखोला गाउँपालिका-६ का कुमानसिंह विश्वकर्माले तीन महिना २३ दिनमा लेकबाट फर्किएको बताए। आफ्ना दुई सय बढी भेडा रहेको सुनाउँदै छिटो झर्दा घाँस पुर्‍याउन समस्या हुने गरेको उनको भनाइ छ। चार महिनालाई पुग्ने खर्च पहिले नै लिएर लेक उक्लिएको विश्वकर्माले सुनाए।