दिव्या रायमाझी : फिल्म ‘एक्टर’ले घोषणा गरेको सरप्राइज

29

फिल्म ‘एक्टर’ले घोषणा गरेको सरप्राइज हुन्, दिव्या । त्यसअघि उनको बारेमा कुनै सोधीखोजी थिएन । उनी कहाँ छिन्, के गर्छिन् अत्तोपत्तो थिएन । उनका बुवा दिलीप रायमाझी हुँदाछदाको करियर थाँती राखेर विदेशिएका थिए । यी ‘रोमान्टिक हिरो’को थाँतबास के-कसो छ ? अधिकांशलाई पत्तो थिएन ।
त्यसैले त हिरोइनको रुपमा दिव्याको उदय अप्रत्यासित बनिदियो । जसै उनको नाम उद्घोष भयो, ‘दिलीप रायमाझीकी छोरी फिल्ममा डेब्यु गर्दै’, ‘दिलीप रायमाझीकी छोरी अब हिरोइन’ शैलीका हेडलाइनको होडबाजी चल्यो । नेपाली सिनेमामा सबैभन्दा कान्छी छिमलकी यी हिरोइनले अपेक्षित हाइप पाइन् ।
यो केही आशालाग्दो र रहरलाग्दो खबर थियो । पुस्ताको विरासत लिएर सगर्व आउनेहरु नेपाली सिनेमामा उति धेरै छैनन् । त्यसैले यहाँ दुई पुस्ताभन्दा लामो सिनेमा वंशावली भेटिदैन । ‘सिनेमा खानदानी’ नभएको नेपाली पृष्टभूमीमा पिता–पूर्खाको पदचाप पच्छ्याउनेको क्रमसंख्या बढ्नु आफैमा खुसीको समाचार थियो ।दिव्या त्यही समयरेखामा अमेरिकाबाट नेपाल फर्किइन्, जतिबेला विरक्तिएर विदेशिन तम्तयार युवाहरुको ताँती लागेको छ । दिनहुँ ३५ सय हाराहारी युवाले देश छाडिरहेको बखत उनी देश फर्किइन्, करियर बनाउन भन्दै ।किनभने उनका बुवा दिलीप रायमाझी झन्डै एक दशकअघि ‘सुरक्षित भविष्य’ खोज्दै परदेशिएका थिए । जबकि आफ्नो समयका चल्तापूर्जा हिरो थिए उनी । ‘जिन्दगानी’, ‘दर्पण छायाँ’, ‘आफ्नो मान्छे’, ‘बादलपारी’ जस्ता सुपरहिट फिल्मको लामो सूची उनीसँग थियो । तुलसी घिमिरे निर्देशित ‘दर्पण छायाँ’ ब्लकबस्टर रह्यो र त्यसले दिलीपलाई रोमान्टिक हिरोको रुपमा उभ्याइदियो ।

हास्य विनोद र नृत्य कौशलको एक सम्पूर्ण प्याकेज थिए उनी । त्यसैले नेपाली सिनेमाले खोजिरहने त्यो रिक्त ठाउँमा उनको माग हुन्थ्यो । उनी कतिसम्म व्यस्त रहन्थे भने एकसाथ तीन वटा सेड्युलमा काम गर्नुपर्थ्यो । केही हडबडे र औधि मिजासिला स्वभावका दिलीप बर्षौं–बर्ष एकनासले छाइरहे नेपाली सिनेमामा । अभिनयमा त्यही बुवाको अनुवांशिक गुण बोकेर आएकी छिन्, दिव्या ।