सिद्धार्थ सुरुङमार्गको भौतिक प्रगति करिब ५७ प्रतिशत

20

पाल्पा । सिद्धार्थ राजमार्गमा निर्माणाधिन सुरुङमार्गको भौतिक प्रगति करिब ५७ प्रतिशत पुगेको छ ।राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो । यो राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ । हालसम्म सुरुङमार्गको भौतिक प्रगति ५७ दशमलव ५१ प्रतिशत सकिएको छ भने वित्तीय प्रगति ५१ दशमलव एक प्रतिशत रहेको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयकी इञ्जिनियर सविता ज्ञवालीले जानकारी दिइन् ।

उनका अनुसार अहिले मुख्य टनेल भुइँ भागको एक हजार ८९ मिटर ढलान निर्माण सकिएको छ । दायाँबायाँ लेपनको ८३४ मिटर काम सकिएको इन्जिनीयर ज्ञवालीले बताइन् । उनका अनुसार अहिले सुरुङमार्ग भित्र २९२ मिटरमा लाइनिङको काम भइरहेको छ । “सुरुङमार्गको तीन वटा बाइपासमध्ये पहिलो १५१ मिटर, दोस्रो १६१ मिटर र तेस्रो बाइपास १३० मिटर छ  । पहिलो बाइपासमा इन्भर्टको काम १४५ मिटर र १२४ मिटर लाइनिङको काम सकिएको छ । सुरुङमार्गको तेस्रो बाइपासमा इन्भर्टको काम १२५ मिटर र लाइनिङको काम ३० मिटर भइसकेको छ”, उनले भनिन् ।

दुई लेनको मुख्य सुरुङमार्ग एक हजार ८९ मिटर लम्बाइको हुनेछ भने चौडाइ साढे १० मिटर र उचाइ करिब सात मिटर रहने छ । इन्भर्ट र लाइनिङको काम सकेपछि एक दुई महिनापछि लाइटिङ सञ्चार तथा सुरक्षा उपकरण जडानको काम सुरु गर्ने तयारी रहेको छ । सुरुङमार्गको मुख्य टनेलमा अत्यावश्यक कामका सवारीसाधन ओहोरदोहोर गर्न मिल्ने अवस्था बनेको छ । सुरुङमार्ग कार्य प्रगतिका बारेमा जनप्रतिनिधि, सुरक्षा निकाय तथा विभिन्न सरोकार भएका पक्षबाट नियमित अनुगमन हुँदै आएको छ ।