कविता : जय ऊ जय उस्को

53

                -राजकुमार लामिछाने `प्रिन्स´

ऊ के हैन ऊ सबै हो
इन्जिनियर हो
यताबाट यसरी बाटो लैजाने
उसैले भन्छ
ऊ JCB अपरेटर हो
उसैले यता खन उता खन भनेसी
JCB ले बाटो खन्छ
भुगर्भको त ऊ भुमे देउता नै हो
कहाँ दरो छ
कहाँ पिपलको जरो छ
पैतालाले नै चाल पाउछ
बजेट कति चाहिन्छ , उसैले छुट्याउछ
ठेक्का आफै लाउछ
ऊ बिकासको नेता हो
दिगो बिकासको प्रनेता हो
सबै ज्ञान उसैसंग छ
ऊ सृस्टिकै अध्येता हो
उहीँ हिसाब उहीँ खाता हो
कसरी कमाउछ नसोध्नुस
र पनि ऊ
बेला बेलाको दाता हो ।

बजेट चाहियो कि योजना चाहियो
कि ठेक्का, खानी खजना चाहियो
करारमा काम चाहियो
कि सिफारिसको खाम चाहियो
कि पुरस्कार सम्मानको पत्रमा नाम चाहियो
जे छ उसैसंग छ, ऊ कलिको कुबेर हो
मानिलिनुस ऊ ब्रम्हा, बिष्णु, महेस्वर हो
    त्यसैले आउनुहोस
    उस्को प्रशंसा गाउनुहोस
ध्यान गर्नुस, मन्त्र जप गर्नुस
चाप्लुसी श्लोकसंगै तप गर्नुस
सकेसम्म उस्लाइ नै खुशी पार्नुस
नसके पिएको जुत्ताको धुलो झार्नुस
वा घरकीलाइ चोली  मिलाइदिए नि हुन्छ
वा परकीलाइ जामा सिलाइदिए नि हुन्छ
भगवानको ड्राइभरलाई  वेवास्ता गर्नुहोला नि
       उसंग नि पावर हुन्छ
    नेटवर्क मिलाउने टावर हुन्छ
उसलाइ धुप बाल्दे नि हुन्छ
हल्का बोतलको सुप हाल्दे नि हुन्छ
जसरी हुन्छ उतिर मोडिनुस
जसरी हुन्छ उसंग जोडिनुस
तपाइका मित्र उस्का सत्रु हुन सक्छन
त्यस्ता मित्र संगत तोडिनुस
यसरी नै उसंग मिलेर
बिकासको मुल फोडिनुस
जय ऊ जय उस्को ….।।
( आदरणीय भगवानरुपी जनप्रतिनिधिहरु प्रती समर्पित )

                   चानपा-६ नगरकोट भक्तपुर
                          📞   ९८५११९६०५९
                              २०८४ असार २६