काठमाडौं । नारायणघाट–बुटवलखण्डको विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगायो । खोलामा फसेका यात्रुहरूलाई सशस्त्र प्रहरी बलको उद्धार टोलीले उद्धार गरेलगत्तै बस खोलाले बगाएको हो । काठमाडौंबाट नेपालगन्ज गएको भे१ख ४०८५ नम्बरको नाइट बस राति पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवलखण्डको विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोला पुगेको थियो तर, बिहीबार साँझदेखि पहिररहेको पानीका कारण विनयी खोलामा बाढी आएको थियो । इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख एवम् प्रहरी निरीक्षक राजन तिमिल्सेनाका अनुसार, डाइभर्सनबाट बस पार गर्न खोज्दा बस फसेको हो । बसमा तीन शिशुसहित ३८ यात्रुसवार थिए ।बाढीकै अवस्थामा चालकले बस पार गराउन खोेज्दा फसेको हो । यात्रुहरूको उद्धार गरिएको १० मिनेटपछि खोलाले बस पल्टाएर बगाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उनी भन्छन्, ‘‘उद्धार कार्य केही ढिलोमात्र भएको भए ठूलो मानवीय क्षति हुने अवस्था थियो । हाम्रो ३१ नम्बर गुल्म पूर्वी नवलपरासीबाट खटिएको २७ जनाको टोलीले क्रेन र डोजरको सहायताले यात्रुहरूको उद्धार गर्न सफल भएको हो । यात्रुको उद्धार गरेको १० मिनेटमै बस खोलाले बगायो ।’’डीएसपी थापाका अनुसार, डाइभर्सनबाट पार गर्न खोज्दा लेदोमा बस फसेको थियो । उक्त बसमा दुईजना चालक थिए । एक थिए ३६ वर्षीय टिकाराम पाण्डे र अर्का थिए नरेन्द्र बोगटी ।त्यसबेला बोगटीले बस चलाइरहेको बयान प्रहरीसमक्ष दिएका छन् ।“केही बसले पार गरेको देखेपछि आफू पनि पार गरिन्छ कि भनेर चलाएको चालकले बयान दिएका छन्,” प्रहरीले चालकको भनाइ उद्धृत गर्दै भनेका छन् । उनको पनि प्रहरीले उद्धार गरेको थियो । सशस्त्र प्रहरी बलको टोली सबै यात्रुको सकुसल उद्धार गरे पनि केही यात्रुहरूका सामान भने खोलाले बगाएको छ ।
गएको वर्ष असार ३० गते यही प्रकृतिको घटना हुँदा त्रिशुलीमा दुईवटा बस बेपत्ता भएका थिए । भरतपुर महानगरपालिका–२९ नारायणी–मुग्लिन सडक खण्डको सिमलतालमा आएको लेदोसहितको पहिरोमा परी दुईवटा बस त्रिशुलीमा बेपत्ता भएका थिए ।
दुवै बसमा सवार ६५ जना यात्रु पनि बेपत्ता भएका थिए । पछि केही यात्रुहरूको शव फेला पर्यो । तर, बस अझै फेला परेको छैन । पछि बसका केही टुक्रा फेला परेको थियो । पर्सा हुँदै काठमाडौं आउँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौर जाँदै गरेको गणपति लेखिएको वाग्मती प्रदेशको ०३–०११ ख २४९५ नम्बरको बस बेपत्ता भएको थियो । बसको खोजीका लागि लामो समयसम्म सशस्त्र प्रहरी बलको गोताखोरको टोली खटिएको थियो । त्यसबाहेक भारतबाट समेत गोताखोर टोली झिकाएर खोजी गरिएको थियो । उद्धार टोलीले अत्याधुनिक प्रविधिसहितको क्यामरामार्फत खोजी गरेको थियो । तर, बस फेला परेन । छानबिनका क्रममा ग्रेग्रानले सडक साँघुरो बनाउँदै गर्दा चालकहरूले त्यही बाटोमा एकले अर्कोलाई पालो नदिई पास गर्न खोज्दा दुवै फसेपछि लेदोसहितको पहिरोले बगाएको थियो ।














