गाईघाट बजार जोखिममा

140
सांकेतिक तस्विर

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–११ बरुवा खोलास्थित ढिम्कीको तटबन्धन समयमा पुनःनिर्माण नहुँदा गाईघाट बजार जोखिममा परेको छ । मर्मतसमेत नहुँदा वर्षायाम सुरु भएसँगै दैनिक वर्षाको कारण खोलाको बहाव बढ्दै जान थालेपछि जिल्लाको सदरमुकाम गाईघाट बजारसहित आसपासका क्षेत्र जोखिममा परेको हो ।

त्रियुगा–११ नंवर वडास्थित शिवालय टोल, साकेला टोल, ढिम्कीसहित आसपासका बस्ती क्षेत्रमा निर्माण गरिएको पुराना र कच्ची तटबन्धन तथा बाँध बर्षाको कारण भत्कन थालेको छ । अहिलेसम्म पनि यीनको मर्मत तथा पुनःनिर्माणमा कसैले चासो देखाएको पाइदैन । वर्षायाम सुरु भएसँगै दैनिक वर्षाको कारण बरुवा खोलाको बहाव निरन्तर बढ्न थालेपछि पुराना कच्ची बाँध तथा तटबन्धन भत्कने खतरा बढ्दै गएको कारण यस क्षेत्र आसपासका स्थानीय चिन्तित भएको ढिम्कीका जगत कार्की बताउँछन् । ‘तटबन्धन पुनःनिर्माण नै गर्नुपर्ने हो, तर मर्मत मात्रै गरिदिए पनि ढुक्क हुनुहुन्थ्यो’, उनले भने ।

बरुवा खोला नियन्त्रणका लागि निर्माण गरिएका पुराना बाँधको ढुङ्गा निस्कँदै बाँध खुल्न थालेको र बाँधको केही भागसमेत भत्कन थालेपछि शिवालय टोल, साकेला टोल र गाईघाट बजार क्षेत्रनै जोखिममा परेको साकेलाका राजकुमार राईले बताए । उनले भने, ‘तत्कालै यो समस्याप्रति सरोकारवालाको ध्यान जान जरुरी छ ।’

अहिले बर्षायाम सुरु हुनै लाग्दा बरुवा खोलामा पानीको बहाव दिनानुदिन बढ्दै जान थालेपछि बाढीले बाँधको पुरानो संरचना खोल्ने र भत्काउने खतरा बढ्दै जान थालेको र केही ढुङ्गा बगाउन थालेपछि बाँध फुट्नसक्ने अवस्थामा पुगेको हो । ‘बाँध फुट्यो भने त बस्ती निकै खतरामा पर्ने छ” शिवालय टोलका दीपिका कार्कीले बताइन् । उनका अनुसार यसअघि पटक–पटक बाँध भत्किँदा स्थानीय विस्थापित हुनुपरेको थियो । स्थायी रुपमा बरुवा खोलामा बाँध निर्माण नहुनु र पुराना संरचनामा निर्माण गरिएको बाँध यसभन्दा अघि पनि विसं २०३१, २०३९ र २०५७ सालमा भत्किएको थियो ।