सूर्यविनायकको वडा नं ४ मा सार्वजनिक सुनुवाईः कुकुर आंतकदेखि खानेपानीको दुःखसम्म

27

भक्तपुर । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ४ मा वडागत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा सहागीहरुले वडामा खानेपानीको समस्या भएको गुनासो गरेका छन् । ‘हाम्रो वडा, हाम्रो आवाज’ भन्ने नाराका साथ आयोजित सार्वजनिक सुनुवाई कार्यक्रम ‘राष्ट्रिय सञ्चार केन्द्र नेपाल (एनएमसी)’को आयोजना तथा सूर्यविनायक नगरपालिकाको सहकार्यमा सम्पन्न भएको हो ।

नागरिक उत्तरदायित्व र पारदर्शी शासन व्यवस्थाको प्रवद्र्धन गर्न आयोजित वडागत सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार वडा कार्यालयको सभाहल गाम्चामा सम्पन्न भएको छ । वडा नं ४ का अध्यक्ष लछुराम न्यौपानेले वडाको विकास, सेवा प्रवाह र पारदर्शितालाई प्राथमिकतामा राख्दै आफ्नो तीनवर्षे कार्यकालमा उल्लेखनीय कामहरु सम्पन्न गरिएको बताए । उनले सडक, खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा अगाडि बढाइएका योजनाहरूको विवरण प्रस्तुत गरेका थिए ।
‘जनताको करले संचालित वडाले जनताको अपेक्षाअनुसार काम गर्नुपर्छ भन्ने मान्यताबाट काम गर्दै आएको छु’ भन्ने धारणा राखे ।
कार्यक्रममा वडासदस्य विदुर खड्का, तारा खतिवडा सापकोटा तथा वडा सचिव माधवराज घिमिरेले वडामा सम्पन्न विकास योजनाहरू र सेवा प्रवाहका विषयमा विवरणसहित जवाफ दिएका थिए ।
नगरका बरिष्ठ इन्जिनियर जनक न्यौपानेले भौतिक संरचना, ढल निकास र खानेपानीसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिएका थिए । त्यस्तै, दधिकोट बृहत्त खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्णहरी खड्काले खानेपानीका सवालमा उठेका जिज्ञासाहरूको जवाफ दिएका थिए । दधिकोट प्रहरी प्रभागका प्रमुख माधव डाँगीले हालै वडामा बढेका चोरीका घटनाबारे जानकारी दिँदै प्रहरीले अनुसन्धान गरिरहेको र चाँडै चोरहरुको पहिचान गर्ने विश्वास ब्यक्त गरेका थिए ।
पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकारले मन्तव्य राख्दै सार्वजनिक सुनुवाई कार्यक्रमले जनप्रतिनिधि र जनतालाई नजिक ल्याउने काम गर्ने बताए । कार्यक्रममा सार्वजनिक सुनुवाईको औचित्यबारे सञ्चारकर्मी दिवस गुरागाईंले धारणा राखेका थिए ।

सुनुवाई कार्यक्रममा एक दर्जन भन्दा बढी वडाका बासिन्दाले प्रश्न र गुनासो ब्यक्त गरेका थिए । त्यसमध्ये टोल विकास समितिका अध्यक्षहरु, पूर्व सुरक्षाकर्मी तथा पूर्व कर्मचारीहरुको संख्या धेरै थियो । कार्यक्रमको सञ्चालन हेमराज ढकालले गरेका थिए भने समापन मन्तव्य एनएमसी अध्यक्ष तथा कार्यक्रमका सभापति पेशल आचार्यले ब्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य राष्ट्रिय सञ्चार केन्द्र नेपालका उपाध्यक्ष पुष्करराज बुढाथोकीले राखेका थिए ।
आएका गुनसोहरु कस्ता थिए ?
कार्यक्रममा सहभागीहरुले राखेका केही महत्वपूर्ण गुनासोहरु यस्ता छन् ।
-खानेपानीको समस्या धेरै भयो समाधान भएन
-खानेपानीले लिदैं आएको शुल्क घटाउन पर्यो
-भुस्याह कुकुरको आंतक धेरै भयो समाधान गरियोस्
-बिजुलीको तार जथाभाबी छोडियो त्यसले दुर्घटना हुनसक्छ
-पानीको मिटर र अन्य चोरीका घटना बढ्न थाल्यो
-बस्ती विकाशसंगै ढल निकास भएन, त्यसको वैज्ञानिक ढंगबाट समाधान होस्