कर्णाली नदीमा एक किशोर बेपत्ता भएका छन्। शुक्रबार कालीकोटको पचालझरना गाउँपालिका-८ स्थित कर्णाली नदीमा नुहाउन गएका कालीकोटकै नरहरी गाउँपालिका-१ कोटवारीका १६ वर्षीय बिराज विष्ट डुबेर बेपत्ता भएका थिए। शुक्रबार नै दैलेखको चामुण्डविन्दासैनी नगरपालिका–९ स्थित कर्णाली नदीमा १६ वर्षीय भुवन सार्की बेपत्ता भएका थिए। ती दुवै किशोरको खोजीका लागि शनिबार गोताखोर परिचालन गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्। भुवनको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल जलविद्युत आयोजना सुरक्षा बेस डावबाट सुरक्षाकर्मी खटाइएको डिएसपी थापाले जानकारी दिए। शुक्रबार साँझसम्म खोजी गर्दा नभेटिएपछि शनिबार बिहानदेखि पुनः खोजी सुरू गरिएको उनले बताए।













