काठमाडौं । विहान उठ्नेवित्तिकै तपाईले जे खानुहुन्छ त्यसमा निकै सोचविचार गर्न जरुरी छ । किनकी हामीले विहान खाने कतिपय चिजले एसिडिटी र जलनको समस्या ल्याउँछ । विहानको नास्ता दिनभरको लागि महत्वपूर्ण आहार हुन्छ । त्यसकारण विहानको नास्ता अधिक स्वास्थ्यकर हुन जरुरी छ । मानिसमा धेरैजसो रोगहरु जीवनशैलीको आधारमा लाग्ने गर्छन् । अझ त्यसमध्ये पनि धेरै रोगहरु हाम्रो खानपिनको बानीमा भएको लापरबाहीले लाग्ने गर्छन् । हामी मध्ये धेरैजसोको बानी बिहान उठ्ने बित्तिकै चिया वा कफी खाने हुन्छ । तर, स्वास्थ्यका दृष्टिकोणले भने बिहान उठ्ने बित्तिकै चिया वा कफी खानु राम्रो हुँदैन।
बिहान खाली पेटमा चिया वा कफी खाने गर्नाले पेटमा ग्यास भरिने, अपच हुने आदि हुनसक्छ र पछि त्यसले ग्यास्ट्रिक, अल्सरको रुप पनि लिन सक्छ। त्यसैले बिहान उठ्ने बित्तिकै पानी पिउनुपर्छ। बिहानमा चिया वा कफीको ठाउँमा जुस पिउन पनि सकिन्छ । बिहान खाली पेटमा कसैको नास्ता खाने बानी हुन्छ । खाली पेटमा खाने खानेकुरा जहिले पनि हल्का हुनुपर्छ। त्यसैले बिहान चियासंग पराठा खाने वा बिहानमा चिल्लोमा पकाएको अथवा तेलमा तारेको खानेकुरा खाने बानी छ भने, त्यो बानी हटाउनुपर्छ। त्यो बानीले सुरुमा ग्यास्ट्रिकको समस्या देखिन्छ र पछि, त्यो बढ्दै गएर ठूलो रुप लिन्छ ।
खाली पेटमा खान नहुने बस्तु
केरा केरामा म्याग्नेसियमको मात्रा अधिक हुन्छ । यो शरीरको लागि निकै आवश्यक चिज पनि हो, तर जब तपाईले खाली पेटमा यसको सेवन गर्नुहुन्छ तब रगतमा म्याग्नेसियमको मात्रा बढ्छ जसले तपाईको मुटुलाई हानी गर्न सक्छ । यसकारण खाली पेटमा केरा खानु हुँदैन ।
गुलियो पदार्थ विहानको खाली पेटमा गुलियो बस्तु पनि खान हुँदैन । यसले तपाईंको शरीरमा इन्सिुलिनको मात्रा अचानक बढाइदिन सक्छ । जसको कारण प्यान्क्रियाजमा दबाव पर्न थाल्छ । लामो समयसम्म यस्तो बानी बसे डायबिटीजको खतरा बढ्छ ।
टमाटर विहान खाली पेटमा टमाटर खानाले ग्यास्ट्रिक–अल्सर हुने खतरा ज्यादा हुन्छ । टमाटरमा रहेको ‘टैनिक एसिड’का कारण एसिडिटी पनि बढ्छ । यसैले विहान खाली पेटमा टमाटर नखानुहोस ।
सोडा मानिसमा विहान उठ्नेवित्तिकै कोल्ड ड्रिँक्स पिउने बानी हुन्छ । यस्तो गर्नु स्वास्थ्यका लागि निकै हानिकारक छ । यसले ‘म्यूकस मेम्ब्रेन’लाई क्षति पुर्याउँछ । यसको अलावा पाचन तंत्रमा पनि गम्भीर असर पर्दछ ।
दही दहीमा हुने ‘हेल्दी व्याक्टेरिया’ पेटका लागि निकै फाइदाजनक छ, तर यसको सेवन खाली पेटमा गर्नु हुँदैन । जब खाली पेटमा दही खाइन्छ तब पेटमा हाइड्रोक्लोरिक एसिडको मात्रा बढ्छ र ‘हेल्दी ब्याक्टेरिया कमजोर हुन थाल्छ । यसकारण खाली पेटमा दही नखानुहोस ।
मसलेदार खाना खाली पेटमा मसलेदार खाना खानु पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ ।यसले पाचन तंत्रमा नकारात्मक प्रभावपार्छ । यस्ता खानेकुराले पेटमा एसिडिटीको मात्रा ह्वात्तै बढाउँछ ।
खाली पेटमा के खाने ?
खाली पेटमा तपार्ईले अण्डा, ओटमिल, ब्राउन ब्रेड, खरबुजा, ब्लू बेरी, मह या कार्बोहाइड्रेटयुक्त खाना खान सक्नुहुन्छ जसले तपाईको पाचन प्रणालीलाई खराब गर्दैन ।