अब कांग्रेसको मञ्चमा दुई जना मात्रै बस्ने !

73

पोखर । नेपाली कांग्रेसले पोखरामा मंगलबारदेखि जिल्ला सभापति र प्रशिक्षण विभाग प्रमुखलाई प्रशिक्षण सुरू गरेको छ। सभापति शेरबहादुर देउवाले प्रशिक्षण कार्यक्रम उद्घाटन गरे। उद्घाटन मञ्चमा सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्का मात्रै थिए। जबकि कार्यक्रम हलभित्र पार्टीका अरू पदाधिकारीहरू, संघीय सरकारका मन्त्रीहरू, गण्डकी कांग्रेस सभापतिसहित पदाधिकारी, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलगायत पनि सरिक थिए। कांग्रेसका कार्यक्रममा प्रायस् मञ्चभरि नेताहरू र लम्बेतान भाषण हुने गर्छ। यसपालि फरक दृश्य देखियो। मञ्चमा किन दुई जनामात्रै नेता राखेर कार्यक्रम भयो, यो कुरा हामीले कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मालाई सोध्यौं।

उनले जबाफ दिए यो पार्टीको नीतिअनुसार नै हो। ७७ जिल्ला सभापतिलाई प्रशिक्षण दिने कार्यक्रमको आयोजक केन्द्रीय नीति, अनुसन्धान प्रशिक्षण प्रतिष्ठान हो। उपसभापति पूर्णबहादुर खड्का प्रतिष्ठान प्रमुख छन्। प्रशिक्षण उद्घाटन गर्ने प्रमुख अतिथि सभापति देउवा थिए। प्रतिष्ठान प्रमुख खड्का र सभापति देउवामात्रै मञ्चमा, अरू फ्लोरमा बसेर कांग्रेसले प्रशिक्षण कार्यक्रम गरिराखेको छ। बुधबारसम्म यो कार्यक्रम चल्छ। प्रचार विभाग प्रमुख विश्वकर्माका अनुसार पार्टीले आफ्ना कार्यक्रम छोटो, छिटो र छरितो बनाउन खोजेको हो। -setopati