पत्रकार प्रजापतिको उपचारकालागि महासंघ भक्तपुरको आर्थिक सहयोग

106

भक्तपुर । मुटु रोगको उपचार गरिरहेका पत्रकार प्रेम प्रजापतिलाई नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आर्थिक सहयोग गरेको छ । दुई महिनादेखि उपचाररत प्रजापतिको उपचारमा सघाउ पुर्‍याउन शाखाले संकलन गरेको २९ हजार रुपैयाँ आज हस्तान्तरण गरिएको हो । उनी पत्रकार महासंघ भक्तपुरका साधारण सदस्य हुन् ।

प्रजापतिको निवास पुगेर सो शाखाका अध्यक्ष सुन्दर सिल्पकारले सहयोग रकम हस्तान्तरण गरेका हुन् । लामो समय पत्रकारिता गर्दै आएका पत्रकार प्रजापतिलाई सहयोग गर्न शाखाको मातहतमा रहेको पत्रकार कल्याण कोषबाट १० हजार तथा विभिन्न सञ्चारकर्मीबाट १९ हजार गरी कूल २९ हजार हस्तान्तरण गरिएको अध्यक्ष सिल्पकारले जानकारी दिए । साथै अझ उठेका रकम आगामी दिनहरुमा हस्तान्तरण गर्दै जाने उनले बताएका छन् । नेपाल पत्रकार महासंघ केन्द्र र प्रदेश कार्यालयमा पनि प्रजापतिको उपचारका लागि आर्थिक सहयोगको माग गरिएको समेत उनले जानकारी दिए ।

प्रजापतिको हालसम्म लाखौं रुपैयाँ खर्च भइसकेको र आगामी दिनमा पनि उपचार खर्च लाग्ने उनकी श्रीमतीले जानकारी गराइन् । उपचारका लागि खर्च रकम परिवार, आफन्त र पत्रकारहरुबाट जुटेको उनले बताइन् । केही रकम उपलब्ध गराएमा जिल्ला शाखालाई धन्यबाद ज्ञापन समेत व्यक्त गरिन् ।

दुई महिना अघि हृदयघात भई मुटुको शल्यक्रिया गरेका प्रजापति हाल भने निवासमै आराम गरी राखेका छन् । उनको माघ ४ गते शल्यक्रिया गरिएको उनकी श्रीमतीले जानकारी दिइन् ।