भक्तपुर । बौद्ध धर्मावलम्बीहरुले मनाउँदै आएको ‘सम्यक दान पर्व’ तयारी पुरा भएको छ । सम्यक महादान व्यवस्थापन सहयोग समिति समितिका अध्यक्ष गणेश बज्राचार्यका अनुसार यसवर्ष २ हजारबढी भिक्षुलाई महादन गरिने भएको छ । यो पर्व यही माघ १ गते मंगलबार मनाइदैंछ । करिब ३५० वर्ष अघि (नेपाल सम्बत ७८७ साल) अघिबाट प्रत्येक वर्ष माघ १ गते भक्तपुरमा यो पर्व मनाउने गरिन्छ ।
भक्तपुर नगरपालिका–१ स्थित जयकीर्ति महाविहार परिसर भुइख्यमा गरिने बौद्ध परम्परा अनुसारको सम्यक महादान पर्वमा २ हजारबढी जनालाई महादन गर्ने तयारी गरेको हो । पाँच दिपकंर बुद्धका मुर्तिहरुलाई स्थानिय थथुवहिमा विराजमान गराई बुद्ध ज्ञान प्राप्त शाक्य र बज्राचार्यका सम्पूर्ण भिक्षुहरुलाई प्रसाद, चामललगायत बिभिन्न परिकारहरु दान दिने र पाँच दिपंकरको परिक्रमा गराई पूजासमेत दिएर मनाइने आयोजकले जनाएको छ ।
उक्त समयमा जयकीर्ति महाविहार अत्यन्तै जिर्ण अवस्थामा रहेको हुँदा जयरत्न बज्राचार्यबाटै नेपाल सम्बत ७९४ मा उक्त विहारको जिर्णोद्वार गरी सोही वर्ष राजा जय जितामित्र मल्लको उपस्थितिमा सम्यक महादान भव्य रुपमा सम्पन्न गरेको उल्लेख छ ।
जयकीर्ति महाविहारमा एकसाता अघिदेखि नै बसोबास गरी पर्वको लागि आवश्यक पर्ने विशेष प्रकारको पुरी, लड्डू लगायतका अन्य सामग्रीहरुको व्यबस्थापन गर्न व्यस्त रहेको समितिका राजुमन बज्राचार्यले बताए । पर्व अवलोकन तथा सम्यक दान लिने बौद्ध धर्मावलम्बिहरु अघिल्लो वर्षहरुमा भन्दा बढि हुने अनुमान गरिएको छ ।
सम्यक महादानका क्रममा जयकीर्ति महाविहार (थथुबही) परिसर भुइख्यमा चतुब्र्रम्ह महाविहार संघका कुल देवता हेबज नैरात्मालाई सबभन्दा पहिले भोजन दान दिने परम्परा रहेको छ । त्यसपछि लहरै मूल दिपंकर, बाहाछे दिपंकर, भौरबही दिपंकर, ययुबही दिपंकर र कुथुबहि दिपंकरलाई भोजन चढाउने गरिन्छ । भक्तपुरको प्रसिद्ध चतुब्र्रम्ह महाविहारका संघ सदस्य जयरत्न बज्राचार्यले नेपाल सम्वत् ७८७ मा आफ्ना दिवंगत पिता जयदेव बज्राचार्यको नाममा दिपंकर बुद्ध लगायत विभिन्न विहारका संघ सदस्यहरुलाई निमन्त्रणा गरेर सम्यक भोजनदान गरी यस पर्वको स्थापना गरेको इतिहास छ ।