काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जित्नका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको हो । ११ ओभरसम्म विकेटविहीन रहेको जनकपुरले त्यसयताको खेलमा पुनरागमन गरेको हो ।
सुदूरपश्चिमका ओपनरद्वय सैफ जाइब र विनोद भण्डारीले ११७ रनको साझेदारी गरे । ११ ओभरको अन्तिम बलमा उनीहरुको साझेदारी टुटे लगत्तै जनकपुरले लगालग विकेट लिएको हो । सैफले ४३ बलमा ५९ रन र विनोदले ३१ बलमा ४१ रन जोडे । उनीहरुबाहेक सुदूरपश्चिमका अन्य ब्याटर चल्न सकेनन् । यस्तै ब्रान्डन म्याकमुल्ल र हर्मीत सिंह १४–१४ रन जोडेर आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरी ७ बलमा ९ रन जोडेर आउट भए ।
स्कट कुग्गेलिजन १० बलमा २ चौकाको सहयोगमा १३ रन जोडे । अन्य खेलाडीले भने दोहोरो रन बनाउन सकेनन् । बलिङतर्फ जनकपुरका किशोर महतो र महोम्मद मोशिनले ३–३ विकेट लिए । जेम्स नीशम र ललित राजवंशीले समान १–१ विकेट लिए । अन्तिम ओभरमा सुदूरपश्चिमका स्कट कुग्गेलिजन र नरेश बूढाऐर किशोरकै बलको शिकार बने । महोम्मद एक ओभरमा दुई विकेट लिए । १८ ओभको पहिलो बलमा उनले दीपेन्द्रसिंह ऐरी र पाँचौं बलमा आरिफ शेखलाई आउट गराएका हुन् । सुदूरपश्चिमबाट दोस्रो बढी रन बनाउने विनोद भण्डारीलाई ललित राजवंशीले आउट गराए । सुदूरपश्चिमबाट सर्वाधिक रन जोड्ने सैफलाई किशोर ललित राजवंशीमार्फत क्याच आउट गराए ।