काठमाडौं । देशका विभिन्न स्थानीय तहका रिक्त ४१ पदका लागि शान्तिपूर्ण मतदान जारी भईरहेको निर्वाचन आयोगले जानकारी दिएको छ । आज बिहान ७ बजे सुरु भएको मतदान कार्यक्रम साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार आज नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको छ ।
उपनिर्वाचन अन्तर्गत काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका र दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षलगायत पदका लागि मतदान भइरहेको छ । निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भएर मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ। उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन्। आयोगका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् ।