‘नमेटिने घाउः प्रधानमन्त्री ओलीको समेत अभिनय, ट्रेलर सार्वजनिक हेर्नुहोस्

28

काठमाडौं । अभिनेता रमित ढुंगानाले आफ्नो डेब्यु निर्देशनमा देशका शीर्ष नेताहरुलाई अभिनय गराएर फिल्म ‘नमेटिने घाउ’ तयार पारेका छन् । आगामी भदौ ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधव नेपाल, पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले अभिनय गरेका छन् । तर, उनीहरुको फिल्ममा केमियो मात्र छ । प्रदर्शनका लागि अब १५ दिन मात्र बाँकी हुँदा रमितले एकपछि अर्को गर्दै पोस्टर सार्वजनिक गरिरहेका छन् । सोमबार प्रधानमन्त्री ओलीलाई राख्दै पहिलो पोस्टर सार्वजनिक गरियो । बुधबार दोस्रो चरणको पोस्टरमा पूर्व प्रधानमन्त्री नेपाल अटाएका छन् । र, दुवै पोस्टरमा फिल्मका मुख्य कलाकारभन्दा नेता बढी ‘हाइलाइट’ छन् । नेताहरुको तस्वीर फिल्मका कलाकारहरुको भन्दा ठूलो छ ।

‘नमेटिने घाउ’मा कुनै नेता शीर्ष भूमिकामा छैनन् । न त कथा उनीहरुमा केन्द्रित छ । तर, रमितले फिल्म बेच्न मुख्य कलाकारभन्दा नेतालाई बढी भरोसा गरेको देखिन्छ । पोस्टरमा नेताहरुको ठूलो टाउको राख्दा उनीहरु सम्बद्ध पार्टीका कार्यकर्ताहरु फिल्मप्रति आकर्षित हुन्छन् भन्ने रणनीति उनको हुनसक्छ । तर, यसले फिल्ममा काम गरेका कलाकारहरुलाई भने ओझेलमा पारिरहेको छ । यसै साता फिल्मको ट्रेलर सार्वजनिक गर्ने तयारी गरिएको छ । पोस्टरबाटै प्रष्ट हुन्छ कि ट्रेलरमा पनि नेताहरु नै हावी हुनेछन् । अब नेताहरुको अनुहारले फिल्मको व्यापारमा पनि फाइदा पुग्यो भने त रमितको रणनीति सफल हुनेछ । तर, पछिल्लो समय राजनीति र राजनीतिज्ञप्रति आम मानिसमा वितृष्णा चुलिँदो छ । यो अवस्थामा नेतालाई मात्र काखी च्याप्नु घातक सावित नहोला भन्न सकिन्न ।