दैनिक अन्डा खुवाउँदा बालबालिकालाई राम्रो हुने

22

काठमाडौं । दैनिक एउटा अन्डा खाँदा कुपोषणग्रस्त नवजात शिशुलाई स्वस्थ उचाइ हासिल गर्न सहयोग गर्ने देखाएको छ। इक्वेडरमा ६ महिनासम्म गरिएको अध्ययनपछि यस्तो नतिजा सार्वजनिक गरिएको हो। उसिनिनेको, फ्राइ गरिएको वा अम्लेट बनाएर खाइने अन्डाले कलिला बालबालिकालाई शक्ति दिने उक्त अध्ययनको निचोड छ।

‘पेडिएट्रिक्स’ नामक जर्नलमा प्रकाशित एउटा लेखमा अन्डा खानु होचोपन नियन्त्रणको सबैभन्दा सस्तो विधि हुनसक्ने उल्लेख गरिएको छ। शिशुहरुको पहिलो दुई वर्ष उनीहरुको शारीरिक विकासका लागि संवेदनशील अवधि मानिन्छ र त्यसबेला होचोपनको समस्या देखिए त्यो दीर्घकालीन हुनसक्ने बताइन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर पाँच वर्षमुनिका १५ करोड ५० लाख बालिबालिकामा होचोपनको समस्या छ।

त्यसमध्ये अधिकांश कमजोर आय तथा मध्यम आय भएका देशमा बसोबास गर्छन्। स्वास्थ्य विज्ञहरुले यो समस्या कसरी समाधान गर्ने भन्नेबारे अध्ययनहरु गरिरहेका छन्। लोरा इयान्नोटी र उनका सहकर्मीहरुले इक्वेडरको ग्रामीण पहाडी क्षेत्रमा ६ देखि ९ महिनाका शिशुलाई नि:शुल्क अन्डा बाँडेर खान दिएपछि उनीहरुमा केही सुधार देखिन्छ कि भनेर स्थलगत अनुसन्धान गरेका थिए।

खानामा अन्डा
अनुसन्धानका लागि छनोट गरिएका एक सय ६० जना शिशुमध्ये केहीलाई ६ महिनासम्म दैनिक एउटा अन्डा खान दिइएको थियो र उनीहरुको तुलना अन्डा नदिइएका अरु शिशुहरुसँग गरिएको थियो।

अनुसन्धानकर्ताहरुले अन्डा खाने बालबालिकाका परिवारलाई प्रत्येक हप्ता भेटेर आफ्नो योजनाको पालना भइरहेको र अन्डाले स्वास्थ्यमा कुनै नकारात्मक असर गरे, नगरेको जानकारी लिएका थिए। अध्ययन सकिँदासम्म अन्डा खाने शिशुहरुमा नखानेको तुलनामा ४७ प्रतिशतले होचोपनको समस्या कम देखिएको अनुसन्धानकर्ताहरुको दाबी छ।

अनुसन्धान शुरु गर्दाको बेला अन्डा खान छनौट गरिएका धेरै शिशुमा उनीहरुको उमेर अनुसारको उपयुक्त उचाइ थिएन।
प्रमुख अनुसन्धानकर्ता लोरा इयान्नोटी भन्छिन्, ‘अन्डा खान दिँदा त्यसले शिशुहरुमा पारेको प्रभावले हामीलाई आश्चर्यचकित बनाएको छ। भोकमरी र कूपोषणबाट पीडित जनताका लागि यो उपाय निकै उपयोगी र सजिलो हुनसक्छ।’ उनले सानो पेट भएका कम उमेरका बालबालिकाका लागि अन्डा एकदमै उपयुक्त आहारा भएको बताइन्। भन्छिन्, ‘अन्डामा विभिन्न पोषण तत्वहरुको मिश्रण हुन्छ, त्यही भएर यो निकै महत्वपूर्ण छ।’

रोयल कलेज अफ पेडिएट्रिक्स एन्ड चाइल्ड हेल्थकी पोषणसम्बन्धी प्रमुख प्रा. मेरी फ्युट्रेल भन्छिन्, ‘यस विषयमा धेरै अध्ययन नहुनु आश्चर्यको विषय हो। तर, केही संस्कृतिहरुमा कम उमेरका बालबालिकालाई अन्डा खुवाउनु गलत मानिन्छ र त्यसले बालबालिकामा एलर्जीजस्ता समस्या निम्त्याउन सक्ने ठानिन्छ।’ उनले शिशुहरु चार महिनाको भइसकेपछि मात्रै अन्डासहितका अन्य पोषणयुक्त खानेकुरा खुवाइनुपर्ने सल्लाह दिएकी छन्। सम्भावित जोखिम रोक्न कलिला शिशुलाई खुवाइने अन्डा राम्ररी पकाइएको हुनुपर्ने उनको तर्क छ।

पोषण
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आफ्ना छोराछोरीको बढीभन्दा बढी शारीरिक विकास तथा राम्रो स्वास्थ्य सुनिश्चित गर्न जन्मेको ६ महिना आमाको दूध खुवाउनुपर्ने सुझाव दिने गरेको छ।

पहिलो ६ महिनापछि नवजात शिशुलाई अन्य पोषणयुक्त खानेकुरा खुवाउन सकिने र दुई वर्षसम्म वा त्यसपछि पनि स्तनपान गराइरहन सकिने डब्लुएचओको सुझाव छ।

बेलायतको पोषण हेर्ने एउटा निकायले अन्डा पोषणयुक्त खानेकुरा भए पनि बालबालिकाले विभिन्न प्रकृतिका पोषणयुक्त आहारा खान पाउनुपर्ने उल्लेख गरेको छ। उसका अनुसार विभिन्न पोषणयुक्त आहाराबाट उनीहरुले आवश्यक भिटामिन तथा खनिजहरु प्राप्त गर्ने मात्र नभई भिन्न-भिन्न स्वाद पनि थाहा पाउनेछन्। केटाकेटीहरुले अत्यधिक प्रोटिन पाइने खानेकुराहरु (जस्तैः अन्डा, बोडी, दाल, माछा, मासु तथा अन्य दुग्ध पदार्थहरु) खुवाउनपर्ने उसको सुझाव छ। swasthyakhabar