कोटा प्रणालीले निमत्याएको हिंसाको बाटो

35

बीबीसी । बाङ्ग्लादेशमा सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेका प्रदर्शनहरूमा केही व्यक्तिको मृत्यु भएपछि देशभरि विद्यालय र विश्वविद्यालयहरू अर्को सूचना नभएसम्मका लागि भन्दै बन्द गरिएका छन्।
सरकारी जागरिमा सन् १९७१ मा देशलाई पाकिस्तानबाट स्वतन्त्र तुल्याउने सङ्घर्षमा लडेका मानिसका सन्तानका लागि गरिएको आरक्षण प्रणालीविरुद्ध केही दिनदेखि विश्वविद्यालयका विद्यार्थीहरूले ठाउँठाउँमा र्‍याली गर्दै आएका थिए।

बाङ्ग्लादेशमा केही सरकारी पदहरू महिला, जातीय अल्पसङ्ख्यक र शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिका लागि पनि आरक्षित गर्ने व्यवस्था छ। त्यहाँ एकतिहाइ पदहरू युद्धको समयका नायकहरू भनी वर्गीकृत गरिएका मानिसका सन्तानका लागि छुट्ट्याइने गरेको छ। असन्तुष्ट विद्यार्थीहरू उक्त प्रणाली भेदभावपूर्ण भएको तर्क गर्छन्। उनीहरूले सरकारी जागिरमा योग्यताका आधारमा पदपूर्ति हुनुपर्ने माग गरेका छन्।

राजधानी ढाकासहित विभिन्न सहरहरूमा यो साता कोटा प्रणालीविरोधी आन्दोलनका समर्थक र उनीहरूका विपक्षीहरूबीच झडपहरू भएका छन्। यसमा विशेषगरी सत्तारूढ दल अवामी लीगको विद्यार्थी सङ्गठन बाङ्ग्लादेश छात्र लीग ९बीसीएल० पनि संलग्न देखिएको छ। आलोचकहरूका अनुसार त्यस्तो प्रणालीले प्रधानमन्त्री शेख हसिनालाई समर्थन गर्ने सरकार समर्थक समूहका मानिसका सन्तानलाई फाइदा पुर्‍याउँछ भने अरू मानिसले त्यसबाट विभेद खेप्नुपर्छ। शेख हसिना गत ज्यानुअरी महिनामा भएको निर्वाचन लगातार चौथो पटक विजयी भइन्। उनको सरकारले सन् २०१८ मा नै विभिन्न विरोधप्रदर्शनहरूका माझ त्यस्तो आरक्षण प्रणाली खारेज गरेको थियो।