दक्षिण एशियाली राष्ट्रमा घटेन बाल विवाह

8

काठमाडौँ : दक्षिण एशियाली राष्ट्रहरुमा अझै बाल विवाह नघटेको सरोकारवालाहरुले बताएका छन्। दक्षिण एशियाली क्षेत्रमा बालबालिकासँग काम गरिरहेका अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरुको बैठकले बाल विवाहमा कमी आउन नसकेको बताएका हुन्। काठमाडौँमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स, पाकिस्तान, भूटानलगायतका देशमा काम गरिरहेका संस्थाहरुले अझै पनि बलपूर्वक बाल विवाह गराउने चलन रहेको निष्कर्ष निकालेका छन्। नेपालको मधेश प्रदेश र कर्णाली प्रदेशमा बालिका विवाह गर्ने प्रचलन अझै उस्तै अवस्थामा रहेको औँल्याएका छन्।बालबालिकाको क्षेत्रमा काम गरिरहेको प्लान इन्टरनेशनलको एशिया प्यासिफिक निर्देशक भाग्यश्री देंगलेले बालिका विवाहसँग जोडिएको कुरीति अझै हट्न नसकेको बताइन्।

नेपाल, बंगलादेश र भारतमा बालिका विवाहसँग जोडिएको परम्परागत र सांस्कृतिक मान्यताले बलपूर्वक गरिने विवाहलाई नै प्रश्रय दिएको उनले बताइन्। यसले बाल विवाहमा कमी आउन नसकेको बताइन्। सरकार तथा सामाजिक संघ संस्थाले चलाएको शैक्षिक जागरणले केही कमी आएजस्तो देखिए पनि विवाह गराउने दरमा कमी नआएको बताइन्। बालिका विवाह रोक्न अहिले सञ्चालन गरिएका कार्यक्रमको गति बढाउन आवश्यक रहेको बताइन्। बालिकाहरुमा शिक्षा र निर्णय क्षमता बलियो बनाउनसके बलपूर्वक गराइने विवाह रोक्न सकिने उनले बताइन्।

दक्षिण एशियाली देशमा प्लान इन्टरनेशनल सेभ द चिल्ड्रेन, चाइल्ड फण्ड जापान, एसओएस चिल्ड्रेन भिलेज, वर्ल्ड भिजन जस्ता संस्थाले ज्वाइनिंग फोर्स नामको समूह बनाएर काम गरिरहेका छन्। यही ज्वाइनिङ फोर्सको काठमाडौँमा भएको बैठकले मुख्य गरेर बालिका विवाह र शिक्षामा काम गर्नेगरी कार्यक्रम चलाउने निर्णय गरेका छन्। यसै अवसरमा नेपालमा बालबालिकाको क्षेत्रमा ३० वर्षयता भएका उल्लेख्य काम र विद्यमान कमजोरीको विषय समेटिएको एक प्रतिवेदन पनि सार्वजनिक गरेका छन्। प्रतिवेदनमा बालबालिकामाथि अझै असुरक्षा रहेको, यौन हिंसामा पर्ने गरेको, बालबालिका कुलतमा फस्ने डर बढ्दै गएको, साइबर क्राइम र अन्य अपराधमा बालबालिकाको प्रयोग बढ्दै गएको अवस्था रहेको देखाएको छ।