विश्वकप क्रिकेटः नेपालको पहिलो भिडन्त नेदरल्यान्ड्सँग

24

काठमाडौं । नेपालले पहिलो खेल आज मंगलबार राति ९:१५ बजे नेदरल्यान्ड्सँग प्रतिस्पर्धा गर्दैछ। अमेरिकाको डालासस्थित ग्रान्ड पियरे मैदानमा नेदरल्यान्ड्सँग प्रतिस्पर्धा गर्दै नेपालले विश्वकपको सुरुवात गर्दैछ। विश्वपको समूह ‘डी’मा रहेको नेपालकालागि नेदरल्यान्ड्स चिरपरिचित प्रतिद्वन्द्वी हो।

खेलअघि सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली कप्तान रोहितकुमार पौडेलले विश्वकपको पहिलो खेलका लागि उत्साहित रहेको बताइसकेका छन्। १० वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार टी-२० विश्वकप मैदानमा उपस्थित हुँदैछ।

पारस खड्काको कप्तानीमा बंगलादेशमा विश्वकपमा डेब्यु गरेको नेपालले १० वर्षपछि रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेल्दैछ। १० वर्षअघि विश्वकप टोलीमा रहेका राष्ट्रिय टिमका खेलाडीमध्ये अहिले सोमपाल कामीबाहेक सबै नयाँ छन्।

बंगलादेशमा सन् २०१४ मा १० वर्षअघि नेपाल टी-२० विश्वकप क्रिकेटमा डेब्यु गर्दा सिंगो नेपाल क्रिकेटमय बनेको थियो। अमेरिका र वेस्ट इन्डिजमा जारी विश्वकपमा नेपालको उपस्थितलाई आम नेपालीसँगै विश्व क्रिकेटले महत्त्वका साथ हेरेको छ।