तनहुँको व्यास नगरपालिकाको मेयर पदको पुनः मतगणना हुने

32

तनहुँ । तनहुँ जिल्लाको व्यास नगरपालिकाको मेयर पदको पुनः मतगणना असार २ गते बिहान १० बजे सुरू गर्न उच्च अदालत, पोखराले आदेश दिएको छ। मतगणना प्रयोजनका लागि जिल्ला निर्वाचन कार्यालय, तनहुँमा रहेका शिलबन्दी मतपत्रसहित कागजात उच्च अदालत पोखरामा झिकाउन र अदालतका रजिष्ट्रारको संयोजनमा पुनः मतगणना गर्न आदेशमा भनिएको छ। यसका लागि लाग्ने खर्च र व्यवस्थापन गर्न पनि निर्वाचन कार्यालयलाई भनिएको छ।

उच्च अदालत, पोखराका न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले जेठ १ गते उक्त फैसला गरेको थियो। फैसलाको पूर्णपाठ शुक्रबार सार्वजनिक गरिएको हो। पूर्णपाठमा पुनः मतगणना सकिएपछि प्रतिवेदन इजलासमा पेस गर्न पनि आदेश दिइएको छ।
स्थनीय तहको २०७९ वैशाख ३० गते भएको निर्वाचनमा व्यास नगरपालिकाको मेयर पदको मतगणनामा धाँधली भएको भन्दै उम्मेदवार दीपकराज जोशीले उच्च अदालतमा रिट दायर गरे थिए। पुनः मतगणना गरी पाऊँ भनी उनले दिएको रिट निवेदनमा उक्त फैसला भएको हो।

नेपाली कांग्रेसका पूर्वनेता गोविन्दराज जोशीका छोरा दीपकराजले कैंची चुनाव चिह्न लिएर मेयर पदमा चुनाव लडेका थिए। उनलाई एमालेले समर्थन गरेको थियो। चुनावमा कांग्रेस उम्मेदवार वैकुण्ठनाथ न्यौपानेले २ सय ५२ मतान्तरले निर्वाचन जितेका थिए।
अदालतको आदेशको पूर्णपाठ आएसँगै मेयर न्यौपाने सर्वोच्च अदालतमा जाने तयारी गरेका छन्। पुनः मतगणना रोक्न माग गर्दे उनी सर्वोच्च जान लागेका हुन्।
अदालतको आदेशको पूर्णपाठ आएपछि मैले मगाएको छु। दमौली आइसकेको छैन, उनले सेतोपाटीलाई भने, आदेश अध्ययन गर्छु अनि सर्वोच्च जान्छु। मतगणना क्रममा उम्मेदवार जोशीले पुनः मतगणना गर्न कुनै निवेदन नदिएको र आफू निर्वाचित भएपछि बधाइ दिएको भन्दै अब फेरि मतगणना गर्नु कानुन विपरीत हुने उनको जिकिर छ। -setopati