काठमाडौं : काठमाडौं अपराध अनुसन्धान कार्यालयले ११ तोला सुनसहित २ जनालाई पक्राउ गरेको छ। सोमबार रसुवाको केरुङ नाका हुँदै भन्सार छली ल्याएको गोप्य सूचनाका आधारमा प्रहरीले काठमाडौंको नरदेविबाट दुई जनालाई पक्राउ गरेको हो। उनीहरुको साथबाट १२७ दशमलव ७ ग्राम अर्थात् ११ तोला अवैध सुनसहित नियन्त्रणमा लिइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी नकुल पोखरेलले जानकारी दिए। उक्त सुनको हाल बजार भाउ १३ लाख ९१ हजार १ सय ६० हुन आउने प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा सुनसरीको इटहरी नगरपालिका-११ का सुदिप बिक र गोरखाको चुमनुब्री गाउँपालिका-६ का सोनाम दोर्जे लामा छन्। दुवैलाई थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ।