स्कुल जाने आमाहरुको, एसईई दिने रहर !

153

-हेमराज ढकाल
भक्तपुर । पढ्ने रहर हुदाँ–हुदैं विद्यालय जान नपाएका गृहणी आमाहरु यतिबेला एसईई दिने तयारीमा छन् । यो वर्षको एसईई परिक्षा चैत १५ गते विहिबारबाट सुरु हुदैंछ । मध्यपुरथिमि नगरपालिका वडा नं. ३ गठ्ठाघरमा रहेको आस्था महिला विद्यालयका १२ जना विद्यार्थी (छात्राहरु) यो वर्षको एसईई परिक्षामा सहभागी हुनेछन् ।
यो वर्ष ३० वर्षदेखि ६० वर्ष उमेरसम्मका विद्यार्थीहरु परिक्षामा सहभागी हुने विद्यालयकी निमित्त प्रार्चाय विना देउजाले जानकारी दिएकी छिन् ।

६० वर्षको उमेरमा एसईई दिदैं
विद्यालयमा पढ्ने धेरै जनाको आफ्ना सन्तानहरु स्कुल र कलेज जान्छन् । कतिपयका छोराछोरी पढ्नकैलागि विदेश समेत गईसकेका छन् । बिहान उठेर घरको काम धन्दा सकेर धेरै आमाहरु स्कुल आउने गर्दछन् ।
३८ वर्षकी अम्बिका अधिकारी यीनै मध्यकी एक हुन् जो घरको सबैकाम सकेर विद्यालय आउँछिन् । सबै जना साँझ फेरि घरको काम गर्दै पढ्ने र गृहकार्य गर्ने गरेको बताउँछन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका दुवाकोटकी सुमित्रा अधिकारी उमेर ६० वर्षकी भइन् । उनका सन्तान कामको सिलसिलामा विदेशमा छन् । सुमित्रालाई सानैदेखिको पढ्ने मनमा धोको थियो । सानामा छोरोलाई मात्र पढाउने छोरीलाई घरको काम लगाउने सोचले गर्दा आफुले पढ्न लेख्न नपाएको उनको भनाई छ ।
“भाईको किताब र झोला बोकेर रहरले स्कुल गएपनि मैले पढ्न पाइन्, धेरै पछि आफ्नो रहर पुरा गर्न पाएकोमा म खुसी छु,” अधिकारीले भनिन् ।

५२ वर्षकी शोभा राइर्ले माइतीमा नजिकै स्कुल भएपनि पढ्न पाइनन् । तर, ५÷६ वर्ष अगाडीदेखि उनले आफ्नो पढ्ने धोको पुरा गरिन् । बाल्यकालमा पढेको कुरा चाडंै सम्झने भएपनि यो उमेरमा केही गाह्रो हुने गरेको उनको बुझाई छ ।

सूर्यविनायक नगरपालिका आशापुरीकी कुमारी तामाङ्ग छोरोछोरीलाई स्कुल पठाएर आफु पढ्न आउन थालेको ६ वर्ष हुन लाग्यो । बाबु नानीलाई गृहकार्य सिकाउन नजान्दा उनलाई पढ्ने हुटहुटी लाग्यो ।
२०७४ सालतिर उनले आस्था महिला विद्यालयको बारेमा मोवाइलमा हेर्दै गर्दा केही जानकारी भेटिन् । त्यसपछि विद्यालय खोज्दै आशापुरीकी कुमारी गठ्ठाघरमा आइपुगिन् । घरमा भएका देबर, देउरानीको सकारात्मक साथले आफुलाई पढ्न उर्जा थपिएको कुमारीको भनाई छ । परिक्षामा सहभागी हुने सुमित्रा र कुमारीको जस्तै प्राय सबै जनाले आफ्नो पढ्ने रहरले नै यहाँसम्म आइपुगेको बताउँछन् ।

यो वर्ष यस विद्यालयबाट अम्बिका अधिकारी, सुमित्रा अधिकारी, शोभा राई, जुना आलेमगर, राधिका खाती, राधिका आचार्य, कुष्णमाया तकों, सरला भण्डारी, विष्णु बर्मी, कुमारी तामाङ्ग, कल्पना वि.क र भवानी भूजेल एसईई परिक्षामा सहभागी हुनेछन् ।

हालसम्म १ सय ५० जनाले दिए एसईई:
वि.स २०६९ सालदेखि एसईई परिक्षामा यस विद्यालयका विद्यार्थीहरु सहभागी हुदैं आएका छन् । जसमा पहिलो वर्ष ११ जनाले परिक्षा दिएका थिए । त्यसपछि क्रमशः १५ जना, १८, १३, १५, १८, १७, ९, १५, १० जना, ९ गरेर हालसम्म १ सय ५० जना छात्राहरुले परिक्षा दिई सकेका छन् । यो वर्ष २०८० सालको एसईई परिक्षामा १२ जना विद्यार्थी सहभागी हुने विद्यालयले जानकारी दिएको छ ।

विद्यार्थी र शिक्षिकाहरु

स्कुललाई भवन नै मुख्य समस्या:
कक्षा १ देखि ३ सम्म एउटै कक्षा, त्यसपछि ४, ५, ६, ७, ८, ९ र १० कक्षा संचालन भएको आस्था महिला विद्यालयमा १ सय ५० जना अध्ययनरत छन् ।पढ्न नपाएका र पढ्ने रहर भएका महिलाहरुलाई पढाउने विद्यालय बिहानी र दिउँस गरेर संचालन हुदैं आएको छ । जहाँ विभिन्न कोटाबाट १४ जना शिक्षिका कार्यरत छन् ।

“हामीलाई सबैभन्दा ठुलो समस्या भनेकै भवनको छ, भाडाको घरमा विद्यालय चलाएका छौं,” प्रार्चाय देउजाले भनिन् । शिक्षा विभाग, मध्यपुरथिमि नगरपालिकाले विद्यालय संचालन गर्न सहयोग गर्दै आइरहेपनि भौतिक पूर्वाधारको भने समस्या देखिन्छ । आफ्नो भवन नहुदाँ विद्यालयको ठुलो धनराशी घरभाडामा खर्च हुन्छ ।
भवनको व्यवस्था हुन सकेमात्रपनि त्यसवापत खर्च हुने रकमले विद्यालयमा शिक्षक थप राख्न र अन्य कुरामा खर्च गर्न सकिने विद्यालयका शिक्षिकाहरु बताउँछन् ।
आमाहरुलाई शिक्षा दिएर देशमा शिक्षित बनाउने विद्यालयको कार्यमा सम्बन्धीत सबै पक्षले साथ दिन जरुरी देखिन्छ ।