मलाई बचाइ दिनुस्ः रामबहादुर वि.क

18

भक्तपुर । दैलेख जिल्ला चामुण्डा वृन्दाशयनी नगरपालिका तिलुखाना वडा नं. ४ का स्थायी वासिन्दा रामबहादुर विक (वर्ष २९) का यतिबेला रोगमाथि रोगले आक्रान्त भई सहयोगको याचनामा लागेका छन् । कालखण्डले २०७६ सालमा मुटुका दुबै भल्ब (एरोटिक भल्ब रिप्लेस, एभिआर तथा माइट्रल भल्ब रिप्लेस, एमभिआर) फेरेका विकलाई अहिले श्रवण शक्ति हराउँदै जाने अर्को रोगले च्याप्दै लगेको छ । विकले आफ्नो बलबुताले र अन्य शुभेच्छुकको मद्दतले स्वास्थ्य जाँच त गराए तर स्वास्थ्य जाँचपछि चिकित्सकको सल्लाह सुन्दा उनको होश उडेको छ । होश पनि किन नउडुन उनलाई गराउनुपर्ने उपचार विधि र खर्चको राशि सुन्दा जो कोहीको पनि होश उड्न सक्छ ।

आर्थिक अवस्था कमजोर पारिवारिक पृष्ठभूमिका विकले उपचार खर्च व्यहोर्न सक्ने स्थिति नै छैन । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल नाक, कान र घाँटी रोग विभागका चिकित्सकले विकलाई कोक्लियर इम्लान्ट गर्न सुझाएका छन् । कोक्लियर इम्लान्ट डिभाइस (उपकरण) यस्तो प्रविधि हो जुन प्रविधि प्रयोग गरेको खण्डमा रोगीको क्षीण हुँदै गएको श्रवण शक्तिलाई सामान्य पार्न सकिने विश्वास गरिन्छ । तर यो प्रविधिबाट नेपालमै उपचार हुनसक्ने भएता पनि यो प्रविधिलाई सहजतापूर्वक अपनाउन दुईपटक सोच्नुपर्ने हुन्छ । शिक्षण अस्पतालले यो रोग लागेका बिरामीलाई नौ लाख अस्सी हजारदेखि छब्बीस लाख पचास हजार रुपैयाँ लाग्ने बताएका छन् ।

चिकित्सकहरूले उनलाई सत्ताइस लाखको प्रवन्ध गर्न सुझाएका छन् । दुर्भाग्यवश रामबहादुर विकको दुबै कानले सुन्न छाडेको छ । अहिले उनी समस्याग्रस्त भएर दाता, सहयोगी र सहानुभवी, उदार हृदयका व्यक्तिहरूको खोजीमा छन् । विकको आर्थिक अवस्थाले उक्त इम्लान्ट गर्न सक्ने सपनामा पनि चिताउन सकिन्न । उनले शनिबार रफत सञ्चार क्लबमा आयोजित एक अपिल कार्यक्रममा सरञ्चारकर्मीसामु यस्तै अनेकन दुखेसो पोख्दै भने, “म मा बाँच्ने शक्ति अझै प्रवल छ, हजुरहरूको माध्यमबाट सहयोग जुट्न सकेको खण्डमा म मेरो सानो परिवारलाई लालनपालन गरेर उनीहरूलाई यो देशको सक्षम नागरिक बनाउने धोको रहेको छ ।” विकको जीवनप्रतिको लगाव र उनको कारुणिक अवस्थाबाट सञ्चारकर्मीहरू पनि गम्भीर थिए ।

विकलाई केही गरी कोक्लियर इम्लान्ट गरेको अवस्था पनि थप धनराशिको आवश्यकता पर्न सक्छ किनभने चिकित्सकहरूले उक्त शल्यक्रिया गरिसकेको खण्डमा पनि कुनै कारणवश एमआरआई गर्नु परे पनि थप रकमको जरुरत पर्छ । रोगले च्यापिएका रामबहादुरको र उनका परिवार अहिले सहयोगको यात्रामा छन् । आफूले चिनेजानेको जो कोही भेटे पनि विकले सबिस्तार आफ्नो वेदना सुनाउने गर्छन् । भनिन्छ, मागे राज्य पाइन्छ । त्यस्तै रामबहादुरको जीवनमा पनि दाताहरूको ध्यानाकृष्ट होस् र उनको सुखद र हँसिलो परिवारको रक्षा होस् । रामबहादुर विकले आफूलाई सहयोग, दान वा दातब्य दिन चाहने उदार हृदयका महानुभावहरूलाई राष्ट्रिय वाणिज्य बैकको खाता नं. ५१५०१०००००१५१०१० मा गच्छअनुसारको सहयोग राशि जम्मा गरिदिन वा सिधा सम्पर्क गर्न चाहेमा मोबाइल नम्बर ९७०३९५७८०३ र ९८१४५३७५७७ कल गर्न आग्रह गरेका छन् । हाल उनी भक्तपुर नगरपालिकाको देकोचोमा दयनीय अवस्थामा डेरा गरेर बसेका छन् ।