काठमाडौँ : काठमाडौँ–तराई द्रुत मार्गको पछिल्लो ६ वर्षमा ३०.९६ प्रतिशत निर्माण कार्यसम्पन्न भएको छ। ललितपुरको खोकनादेखि बाराको निजगढसम्म ७०.९७७ किमी फास्ट ट्रयाक निर्माण कार्य करिब ३१ प्रतिशत भौतिक प्रगति भएको नेपाली सेनाले बताएको छ। द्रुत मार्गको निर्माण कार्य सुस्त देखिए पनि पछिल्लो समय फास्ट ट्रयाकमा पर्ने सुरुङ निर्माणको काम भने तीव्र गतिमा भइरहेको छ। नेपाली सेनाले काठमाडौँ–तराई द्रुत मार्गलाई १३ प्याकेज बनाई काम अघि बढाएको छ । द्रुत मार्गको अहिलेसम्म ५० किलोमिटर सडक निर्माणका लागि ठेक्का लागिसकेको छ भने ५ वटा प्याकेजको ठेक्का लाग्न बाँकी रहेको नेपाली सेनाले बताएको छ ।
ठेक्का लागेका आयोजनाको काम तीव्र गतिमा भइरहेको र अहिलेकै गतिमा काम भए आगमी २ वर्ष भित्रै निर्माण कार्य सकिने नेपाली सेनाले जनाएको छ । ाठमाडौँबाटै द्रुत मार्ग प्रवेश गर्ने प्याकेज ११ मा पर्ने खोकनामा जग्गा विवादले ६.५ किमी ठेक्का लाग्न बाँकी रहेको आयोजना प्रमुख विकास पोखरेलले बताए। उनले फास्ट ट्रयाक निर्माणका लागि आयोजना ठेक्का लाग्न नसके अगाडि बढ्न नसक्ने बताए। उनले अहिलेसम्म १ देखि ७ सम्म र १० नम्बर प्याकेजको ठेक्का भइसकेको बताए। उनले प्याकेज नम्बर ८ ‘क’, ९ ‘क’ र ‘ख’ ठेक्का लागेको धेरै समय भए पनि उच्च अदालतमा मुद्दा चलिरहेकाले काम हुन नसकेको बताए। उनले अदालतले पनि राष्ट्रिय गौरवको आयोजना भएकाले यसलाई प्राथमिकता दिएर छिटो मुद्दा टुङ्गो लगाए फास्ट ट्रयाक निर्माणका लागि अगाडि बढाउन सहज हुने अवस्था रहेको धारणा राखे।
उनले विवादमा सहमति भए र अदालतले पनि तत्काल मुद्दा किनारा लगाई दिए समय अवधिमा नै आयोजना निर्माण कार्य सम्पन्न गर्न सकिने अपेक्षा रहेको बताए। उनले प्याकेज ८ ‘ख’को पुनः ठेक्काका लागि आर्थिक प्रस्ताव मूल्यांकनका क्रममा रहेको भन्दै केही दिनमा टुङ्गो लग्ने बताए। उनले चालु आर्थिक वर्षको लक्ष्य हेर्दा ९९ प्रतिशत लक्ष्य पूरा गरेको उल्लेख गरे। उनले नेपाली सेनालाई प्राप्त भएको जिम्मेवारी आगामी २०८३ चैतसम्म सम्पन्न गर्ने लक्ष्यमा काम गरिरहेको बताए। काठमाडौँ–तराई द्रुत मार्गअन्तर्गत निर्माण हुने ६ वटा सुरुङ मार्गमध्ये तीनवटा सुरुङको निर्माण जारी रहेको छ। यसरी समग्र सुरुङ मार्गको भौतिक प्रगति ६७.४३ प्रतिशत रहेको सेनाले बताएको छ। निर्माण भइरहेको सुरुङ मार्ग काठमाडौँबाट निजगढतर्फ जाँदा एउटा र निजगढबाट काठमाडौँतर्फ आउँदा अर्को छुट्टै सुरुङ प्रयोग गर्नुपर्ने भएकाले एक ठाउँको सुरुङलाई चारतर्फबाट खनिएको छ। द्रुत मार्गमा ८९ वटा पुन निर्माण गरिँदै छ। आकर्षक देखाउन आर्क ब्रिज निर्माण पनि गरिएको छ भने सबै पुलको कुल दूरी १२.८८ किमि रहेको छ।
प्याकेज १ देखि ७ सम्म २ हजार ८ सय २ वटा फाउण्डेसन राखिनेछ। त्यसमध्ये १ हजार ६ सय ६५ वटा पायल निर्माण सकिई पुल निर्माण भइरहेका छन्। ६७ पुल निर्माणाधीन हुँदा १८ वटा खरिद प्रक्रियामा छन्। महादेवटार र धेद्रे सुरुङ जोड्न अग्लो पुल निर्माण भइरहेको छ । धेद्रे सुरुङबाट लेनडाँडा सुरुङ जोड्न जमिन सतहबाट ८३ मिटरको सबैभन्दा अग्लो पुल निर्माण पनि भइरहेको छ। कोरियन कन्सल्टेन्ट कम्पनीका चिफ ब्रिज इन्जिनियर डोङ किमले दुई तर्फीको लागि २ वटा पुल बन्ने जानकारी दिए। उनले एउटा २७० मिटर लामो र अर्को २४५ मिटर लम्बाईका पुल बन्ने बताए। उनले यी पुल काठमाडौँको धरहराभन्दा अग्ला रहेको बताए। नेपाली सेनाका महासेनानी तथा द्रुतमार्ग अपरेसन इन्चार्ज इन्दिबर गुरुङले द्रुतमार्गमा सुरुङ मार्ग र पुल निर्माणसँगै अग्ला पहाडमा कटानको काम भइरहेको बताए। उनले सुरुङमार्ग बनाउन दूरी कम रहेका अग्ला स्थान कटान गरी एक्सप्रेस-वे निर्माण भइरहेको उल्लेख गरे।













