दृढ राजनीतिक प्रतिबद्धताबिना भ्रष्टाचार नियन्त्रण असम्भव : राष्ट्रपति

14

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिवद्धता पहिलो प्रस्थान विन्दु भएको बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन उनले भ्रष्टाचार न्यूनीकरणका लागि सार्वजनिक निकायमा पारदर्शीता जरुरी रहेको उल्लेख गरे।“शासन प्रणाली जति पारदर्शी र जवाफदेही हुन्छ भ्रष्टाचार न्यूनीकरणको सम्भावना त्यति नै हुने भएकाले सार्वजनिक निकायका हरेक काम, कारबाही र निर्णय पारदर्शी हुनुपर्छ भन्ने कुरामा सबैको ध्यानाकर्षण गराउन चाहन्छु”, उनले भने, “नेपाली जनताको ठूलो बलिदान र सङ्घर्षबाट ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावना पनि यही हो।” भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको विकास र उन्नतिमा अवरोध सृजना गर्ने उनको भनाइ थियो। उनले भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको नैतिक धरातल भासिँदै जाने र राष्ट्रियता नै कमजोर बन्न पुग्नेमा चिन्ता पनि प्रकट गरे।

राष्ट्रपति पौडेलले भने, “भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको विकास र उन्नतिमा अवरोध सृजना गर्नेमात्र होइन राष्ट्रको नैतिक धरातल भासिँदै जान्छ र यसले राष्ट्रियता नै कमजोर बन्न पुग्ने हुन जान्छ ।” विद्यमान कार्य संस्कृतिमा परिवर्तन पनि भ्रष्टाचार नियन्त्रण गर्ने एउटा प्रभावकारी पक्ष हुनसक्ने उनको सुझाव थियो। राष्ट्रपति पौडेलले अख्तियारले अनुसन्धान र मुद्दा दायर गर्दा आग्रह पूर्वाग्रहरहित भएको सन्देश प्रवाह हुनुपर्नेमा जोड दिए। जनमुखी विकासबाट नागरिकमा सकारात्मक सन्देश जाने र प्रशासनिक क्षेत्रलाई पनि सोहीअनुरूप चुस्त र दुरुस्तरुपले अघि बढ्न मद्दत मिल्ने बताए। प्रकृति मानिसका आवश्यकता पूरा गर्न सक्षम छ तर मानिसको लोभ पूरा गर्न सक्षम छैन भन्ने पूर्वीय दर्शनको मान्यतालाई अनुसरण गर्नु आजको आवश्यकता भएकोमा उनले जोड दिए।